१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


‘एमसीसी’ सम्झौतालाई लिएर सत्तारुढ नेकपाभित्र आरोप–प्रत्यारोपको जुहारी


0
Shares

रोमन आचार्य र सुयेश मानन्धर (इमेज)

काठमाडौं, माघ २२ । अमेरिकी सहयोग परियोजना ‘एमसीसी’को विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद बढ्दो छ ।

विवाद समाधान गर्न अध्ययन समिति बनाइएपनि समितिका सदस्यहरु आरोप–प्रत्यारोपमा लागेका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समितिमा सर्वाधिक विवादित विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसनबारे पार्टीद्वारा गठित कार्यदलमा पनि चर्को मतभेद देखिएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल संयोजक रहेको नेकपाको अध्ययन कार्यदलका सदस्य भीम रावल र अर्का सदस्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सार्वजनिकरुपमै घोचपेचपूर्ण आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

नेकपाको केन्द्रीय समिति बैठक अनिर्णीत बनेसँगै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी)बारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल बनेको हो ।

गत आइतबार बनेको कार्यदलले १० दिनभित्र प्रतिवेदन पार्टीसमक्ष बुझाउनुपर्दछ ।

तर, कार्यदलका सदस्यहरु प्रतिवेदन तयार गर्नेभन्दा एक–आपसमा घोचपेचपूर्ण अभिव्यक्तिहरु दिन थालेका छन् ।

कार्यदल सदस्य तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एमसीसीको पूरा रुप थाहा नभएकाले अनावश्यक टिप्पणी गरिरहेको बताएका छन् ।

मन्त्री ज्ञवालीको घोचपेचपूर्ण अभिव्यक्तिबाट आक्रोशित नेकपा कार्यदलका अर्का सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री भीम रावल आफ्नोबारेमा फैलाइएको अतिरञ्जनाबाट किञ्चित विचलित नहुने जवाफ दिन्छन् ।

व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिएका नेकपा कार्यदलका दुई सदस्य एमसीसी स्वीकार गर्ने कि नगर्ने भनेर दोहोरी नै खेल्न थालेका छन् ।

ज्ञवाली एमसीसी स्वीकार गर्ने पक्षमा देखिन्छन् । रावल भने निरन्तर एमसीसी स्वीकार्नै नहुने बताइरहेका छन् ।

कार्यदलका सदस्यहरु एमसीसीबारे दुई ध्रुवमा देखिएको बेला कार्यदल संयोजक खनाल विदेश यात्रामा छन् ।

कार्यदलले तीन दिन बित्दासमेत एमसीसीबारे खासै अध्ययन गरेको देखिँदैन । यसले एमसीसीबारे नेकपाको रणनीति के हो भनेर लख काट्नै नसकिने परिस्थिति निर्माण भएको छ ।

भिडियो हेर्नुहोस्