राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै « Image Khabar


राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आजदेखि सुरु, नामावली प्रकाशन गर्दै


156
Shares

काठमाडौं । राष्ट्रियसभा निर्वाचनको निर्वाचन प्रक्रिया आज (शनिबार) देखि सुरु हुँदैछ । राष्ट्रियसभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गतेलाई तय गरिएको मतदानको प्रक्रिया आज सुरु हुन लागेको निर्वाचन आयोगले जनाएको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभाका २० जना सांसदको पदावधि सकिँदैछ । जसमा १९ जना विभिन्न राजनीतिक दलबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्नेछन् भने १ जना राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित भएका सांसद छन् ।

निर्वाचन कार्यक्रमअनुसार आज मतदाताको नामावली प्रकाशन, दाबी विरोधको उजुरी तथा नाम सच्याउन दरखास्त दिने लगायतका कार्यक्रम छन् ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहमा १ हजार ४ सय ९३ जना र प्रदेश सभामा ५ सय ३२ जना गरेर जम्मा दुई हजार २५ मतदाता रहेको आयोगले जनाएको छ । त्यस्तै मतदानको लागि आठ वटा मतदानस्थल र १४ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभा निर्वाचनमा भाग लिन १२ दल दर्ता भएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलले पाएको समानुपातिक मतका आधारमा राष्ट्रियसभा निर्वाचनको मतपत्रमा चिन्हको प्राथमिकता निर्धारण गर्ने भएको छ ।

फागुन २० मा नेकपा एमालेका ८, नेपाली कांग्रेसका ३, एकीकृत समाजवादीका ४, नेकपा (माओवादी केन्द्र) का ४ र एकजना राष्ट्रपतिबाट मनोनित सांसदको कार्यकाल सकिँदैछ ।