२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


टुरिस्ट भिसामा बसेर व्यापार र अपराध, चिनियाँमाथि कडाइ गर्दै सरकार


2.873k
Shares

काठमाडौं । सुन तथा डलर तस्करी, एटिएम ठगी, वन्यजन्तु ओसारपसारजस्ता गतिविधिमा पटक–पटक चिनियाँहरू नेपालमा पक्राउ पर्दै आएका छन् । बिजनेस भिसामा बस्नेहरूसमेत विभिन्न किसिमका आर्थिक अपराधमा पक्राउ परेका छन् । विभागकै तथ्यांकअनुसार पछिल्लो सात वर्षमा करिब एक हजार पाँच सयजना चिनियाँलाई नेपालबाट निष्कासन गरिएको छ ।

नेपालमा लामो समयदेखि बस्दै आएका चिनियाँ नागरिक पर्यटन भिसाको दुरुपयोग गरी अन्य गतिविधिमा संलग्न रहेको आशंकामा सरकारले उनीहरूमाथि कडाइ थालेको छ । सन् २०२१ देखि २०२२ सम्म निरन्तर बस्ने चिनियाँले अब भिसाशुल्क तिर्नुपर्ने हुन्छ । हाल चिनियाँका लागि नेपालमा भिसाशुल्क निःशुल्क छ ।

गृह मन्त्रालयले निरन्तर दुई ‘भिसा वर्ष’ बस्ने चिनियाँसँग भिसाशुल्क लिने निर्णय गरी कार्यान्वयनका लागि अध्यागमन विभागलाई पत्राचार गरेको छ । पर्यटन भिसामा एक वर्षमा विदेशी नागरिकहरू बढीमा पाँच महिना नेपाल बस्न पाउँछन् । तर, कतिपय चिनियाँ एक वर्षमा पाँच महिना बसी अर्को वर्ष सुरु भएपछि नयाँ भिसा लिएर निरन्तर बस्ने गरेको अध्ययनमा खुलेपछि सरकारले कडाइ थालेको हो ।

‘यो वर्षदेखि नै नेपालमा बस्दै आएका चिनियाँले अब सन् २०२२ देखि नयाँ भिसा लिँदा शुल्क तिर्नुपर्ने हुन्छ,’ अध्यागमन विभागका निर्देशक शेखर पौडेलले भने, ‘घुम्न आउने व्यक्ति सामान्यतया पाँच महिनाभन्दा लामो समय बस्दैन, पर्यटन भिसामा आएर अन्य गतिविधिमा नलागून् भनेर यस्तो निर्णय गरिएको हो ।’
नयाँ पत्रिका