Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


‘सारङ्गी साँझ’पछि सामाजिक संजाल रन्कियो–‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’


0
Shares

काठमाडौं । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बेग्लै रौनक देखियो ।

सँधै देशको शासन सत्ता संचालन र पार्टीका आन्तरिक गतिविधिबारे गफ चल्ने बालुवाटार संगीतमय बन्न पुग्यो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा खानपान मात्र चलने ‘सारङ्गी साँझ’ ले माहोल संगीतमय बन्यो ।

आफ्नो सरकारमा रहेका मन्त्री र नेकपाका सचिवालय सदस्यहरुका लागि ओलीले रात्रिभोजसहित ‘सारङ्गी साँझ’ आयोजना गरेका हुन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजना र संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा सांगितिक कार्यक्रमको आयोजना गरिएको थियो । सोही अवसरमा प्रधानमन्त्री ओलीले बासुरी अनि सारङ्गी बजाए ।

नेकपाका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले सारङ्गी बजाएर ओलीलाई साथ दिए । यो दृश्य निकै रोमान्चक देखियो । कार्यकर्ता तथा शुभेच्छुकहरु खित्का छाडेर हाँसे । रमाइलो माने । तस्वीरहरु सामाजिक संजालहरुमा पोष्ट भए ।

तस्वीरमा ओलीले बाँसुरी बजाइरहेको छन् भने क्रमशः दायाँ र बायाँ रहेर वरिष्ठ नेताद्वय नेपाल र खनालले ओलीलाई साथ दिए । यही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेको छ । ट्रोलहरु बनिरहेका छन् र कतिपयले नेताहरुको खिल्ली पनि उढाइरहेका छन् ।

सारङ्गी साँझमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको पोखरामा रहेकाले सहभागी हुन पाएनन् ।

सारङ्गी साँझको तस्वीर बाहिरिएपछि फेसबुक र ट्युटरमा सकरात्मक र नकरात्मक दुवैखाले प्रतिक्रियाहरु आइरहेका छन् । धेरैले नेताहरुको उक्त तस्वीर पोष्ट गर्दै गिज्याइरहेका छन । खिल्ली उडाइरहेका छन् ।

ट्युटरमा दिपेश शाहीले ‘रोम जलिरहेछ, निरो बाँसुरी बजाइरहेछ’ लेखेका छन् । सूर्य थापाले ‘बालुवाटारमा सारङ्गी र बाँसुरीको सुमधुर धून !’ लेखेर तस्वीर पोष्ट गरेका छन् ।

मणी लोहनीले सोही तस्वीर फेसबुकमा पोष्ट गर्दै ‘हरे शिव..मेरो देशको पछिल्लो तस्वीर’..रोमजलिरहेछ’ लेखेका छन् ।

फेसबुकमा यशोदा अधिकारी लेख्छिन–‘नेपाली कला र सङ्गितलाई माया गर्ने प्रधानमन्त्रीज्यू सारङ्गी साझपछि कलाकारलाई हौसला थप्न मञ्चमा यसरी उभिनुभो । विशिष्ट व्यक्तिहरुसँगै नेपालका ११ मौलिक धुन सुनेर आजको साँझ सुमघुर बनाइयो । हार्दिक आभार’ ।