२७ जेष्ठ २०८०, शनिबार | Sat Jun 10 2023


बजार खोज्दै स्वदेशी माछा दाना उद्योग


195
Shares

भरतपुर । मत्स्यपालक किसानको लगानीमा खुलेको चितवन सामुदायिक माछा दाना उद्योग पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन । भारतीय तयारी दानासँग प्रतिस्पर्धा सहज नभएपछि उद्योग आंशिक रुपमा मात्र सञ्चालनमा आएको हो ।

गत साउनदेखि सञ्चालनमा आएको उद्योगले डुब्ने (सिंकिङ प्लेट) दाना र तैरिने (फ्लटिङ) दाना उत्पादन गर्दै आइरहेको छ । रत्ननगर उद्योग वाणिज्य संघको पहलमा खुलेको उद्योगमा देशभरका ५६ जना मत्स्य किसानहरुको लगानी रहेको छ । यो माछा दाना उद्योग समुदायस्तरमा खुलेको देशकै पहिलो उद्योग हो ।

भारतबाट आउने दानामा तोकिएका गुणस्तर भए नभएको परीक्षण नहुँदा किसानले माछालाई कमसल गुणस्तरका दानाहरु खुवाउनुपर्ने बाध्यता थियो । उद्योगका अध्यक्ष बुद्धिराज चौधरीले कच्चा पदार्थ आयातमा चर्को भन्सार दरले गर्दा आयातित दानासँग प्रतिस्पर्धा गर्न निकै चूनौति देखिएको बताए । भटमासको पीना, फिस आयल, मिनरल्स लगायतका कच्चा पदार्थको भन्सार दर बढीहुँदा स्वदेशमा दाना उत्पादन महँगो पर्न गएको उनको भनाइ छ ।

“विदेशबाट ल्याइने दानाको परीक्षण नहुँदा किसानले कमसल दाना प्रयोग गर्न बाध्य छन्,” उनले भने, “स्वदेशी दाना केही महँगो परेपनि किसानको मन जित्न अझै केही समय लाग्ने देखिएको छ ।” उनका अनुसार हाल उद्योगमा प्रतिघण्टा डुब्ने दाना ३ टन र तैरने दाना २ टन उत्पादनको क्षमता छ । उद्योगले प्रोटिनका आधारमा डुब्ने दाना प्रतिकेजी ५८ देखि ७१ रुपैयाँ र तैरिने दाना ६२ देखि १ सय ५ रुपैयाँसम्म बिक्रि गर्दै आइरहेको छ । आयातित दानामा प्रोटिनको मात्रा बढी देखाएर कमसल दाना बेचबिखन भएपनि राज्यले अनुगमन गर्न नसक्दा किसानहरु अन्योलमा परेको उनले बताए ।

“माग कम भएकाले उद्योग पूणरुपमा सञ्चालनमा आएको छैन,” उनले भने, “किसानको मन जित्न स्वदेशी दानाको गुणस्तर बुझाउन अझै केही समय कुर्नुपर्नेछ ।” देशभर आधुनिक तयारी दानाको खपत करिब ११ प्रतिशतमात्रै रहेको छ । “अधिकांशले पोखरीमा ढुटो, पीनाकै प्रयोग बढी गर्छन्, तयारी दानाको महत्व बुझाउन सकिएको छैन,” उनी भन्छन्, “सेयर सदस्यले उद्योगकै दाना खपत गरेका छन्, तर सबै किसानमाझ दाना लैजाने रणनीति बनाउँदैछौँ ।”व्यवस्थापक रमेश पाण्डेले तयारी दाना प्रयोग गर्दा माछाको विकास छिटो हुने बताए ।

कारोबार