Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


१४ नेपाली चीनको चाँगामा, सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्था


0
Shares

खाँदबारी, माघ २१ । संखुवासभाको उत्तरी क्षेत्र किमाथांका नाका बन्द भएको छ ।

चीनमा ‘कोरोनाभाइरस’को महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको हो ।

नाका बन्द भएपछि कामको खोजीमा चाँगाबजार गएका १४ नेपाली सीमापारि नै रहेको भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटेले जानकारी दिए ।

सीमापारि रहेकामा १२ जना संखुवासभा र दुईजना ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका रहेको अध्यक्ष भोटेले बताए ।

उनीहरूलाई नेपाल फर्काउन मंगलबार जिल्ला प्रशासन कार्यालय खाँदबारीमा छलफल भइरहेको उनले बताए ।

उनकाअनुसार भोटखोला गाउँपालिका पनि चीनसँग जोडिएका कारण कोरोनाभाइरस नेपाल भित्रिनसक्ने भएकाले सतर्क हुन आग्रह गरिएको छ ।

‘चीनमा कोरोनाभाइरस महामारीका रूपमा फैलिएपछि हामीले पनि भोटखोलाका नागरिकलाई सचेत रहन आग्रह गरेका छौं’–उनले भने ।

कोरोनाभाइरसका कारण भोटखोलावासीले अहिले नै डराउनुपर्ने अवस्था भने नरहेको उनको भनाइ छ ।

खाद्यान्न संकट हुने अवस्था 

चीनले यही माघ ५ गतेदेखि किमाथांका नाका बन्द गरेपछि सीमावर्ती गाउँमा खाद्यान्न संकट हुने अवस्थामा पुगेको अध्यक्ष भोटेले बताए ।

उनले भने–‘हामी थुनिएका १४ जना र दैनिक उपभोग्य सामग्रीको अभावका बारेमा जिल्ला प्रशासन कार्यालयमा छलफल गरिरहेका छौं ।’

सदरमुकामदेखि पाँच दिनको पैदलमा रहेको भोटखोलाका नागरिक दैनिक उपभोग्य सामग्री खरिदका लागि तिब्बतको चाँगाबजारमा निर्भर छन् ।

किमाथांका गाउँ र चीनको चाँगाबजार बीचमा रहेको कामुखोला पुलमा रहेको गेटमा ताला लगाएर चिनियाँ सुरक्षाकर्मी बसेका छन् ।

सोमबारको गाउँकार्यपालिकाको बैठकले किमाथांकाका नागरिकलाई खाद्यान्न उपलब्ध गराउने विषयमा निर्णय गरेको थियो ।

भोटखोलाका प्रत्येक घरलाई एक महिनासम्म पुग्ने खाद्यान्न ढुवानीमा पहल गर्न र ढुवानीका लागि हेलिकोप्टरको प्रबन्ध मिलाइदिन प्रशासनमा अनुरोध गरिएको अध्यक्ष भोटेले बताए । रासस