२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कोरोना भाइरस संक्रमण रोक्न सजगता: नाकामा पर्चा, पम्पलेट र होर्डिङ बोर्ड लगाइयो


0
Shares

कञ्चनपुर । चीनमा प्राणघातक बन्दै गएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि कञ्चनपुरमा सजगता अपनाइएको छ ।

पश्चिमी सीमानाका गड्डाचौकी हुदै भारतलगायत तेस्रो मुलकका नागरिक भित्रिने भएकाले कोरोनाभाइरसको संक्रमण भित्रिने सक्ने भन्दै स्वास्थ्य कार्यालयहरुले सजगता अपनाएका हुन् ।

नेपालमा समेत एकजनामा कोरोना भाइरसको संक्रमण देखिएपछि जनचेतनाका लागि गड्डाचौकी, बसपार्क तथा मानिसको आवजावत हुने स्थानहरुमा पर्चा, पम्पलेट तथा होर्डिङ बोर्डहरु लगाइएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका निमित्त प्रमुख पदमराज जोशीले बताए ।

उनले अहिलेसम्म कञ्चनपुरमा कसैमा यसको संक्रमण नदेखिएको भन्दै खुला सीमा र गड्डाचौकीबाट तेस्रो मुलुकका नागरिक समेत भित्रिने भएकाले यस सम्बन्धी प्रचारप्रसारमा जोड दिइएको बताए । यता, महाकाली अस्पतालले समेत उपचारका लागि तयारी अवस्थामा रहेको जनाएको छ ।

कोरोना भाइरसका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गर्नुपर्ने भएकाले त्यसका लागि अस्पतालले तयारी गरिसकेको महाकाली अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डन हरि कुमार श्रेष्ठले बताए ।

यो भाइरसबाट मानिसमा ज्वरो आउने, रुघा लाग्ने, घाँटी, टाउको तथा जिउ दुख्ने जस्ता बहुसंक्रमणहरू देखिने भएकाले यस्ता लक्षणहरु देखिनासाथ स्वास्थ्य संस्थामा चेकजाँच गराउनुपर्ने उनको भनाई छ ।