Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


सत्यनारायणबहादुर श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग


338
Shares

काठमाडौं । स्वर्गीय सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न माग गरिएको छ ।

स्वर्गीय श्रेष्ठको १ सय ६ औं जन्मजयन्ती अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूले गौशाला, सञ्चारग्रामस्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजना गरेको एक समारोहका वक्ताहरूले सो माग गरेका हुन् ।

हाल नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईलाई भन्ने गरिएको छ । भट्टराई नेपाली कांग्रेसका संस्थापक र नेपालको पहिलो सभामुख समेत हुनुहुन्छ ।

२००८ सालमा नेपाल पत्रकार संघको स्थापना गर्दा श्रेष्ठ अध्यक्ष भएकाले उहाँलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने नेवाः पत्रकार राष्ट्रिय दबूको माग छ । स्वर्गीय श्रेष्ठ २००८ सालमा नेपाल टुडेको सम्पादक हुनुहुन्थ्यो ।

उहाँकै सभापतित्व र तरंगका सम्पादक भोजबहादुर सिंह न्यौपाने सचिव रहेको पहिलो पत्रकार संघको गठन भएको थियो । यसैले नेपाल पत्रकार संघका पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठ नै रहेको तर्क गर्ने गरिएको छ ।

उहाँकै सभापतित्वमा गठन भएको नेपाल पत्रकार संघको दोस्रो सभा २००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको थियो । सभाले पनि सत्यनारायणबहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघ पुनर्गठन गरेको थियो । यसको तीन वर्षपछि नेपाल पत्रकार संघको पुनर्गठन भएको थियो ।

२०१२ साल चैत्र १६ गते पत्रकारहरुको बैठकबाट नेपाल पुकारका तत्कालीन सम्पादक कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति हुनुभएको थियो । सत्यनारायणबहादुर श्रेष्ठ भन्दा चार वर्षपछि मात्रै नेपाल पत्रकार संघको अध्यक्ष बनेका कृष्णप्रसाद भट्टराईलाई संस्थापक सभापति भन्ने गरिएको छ ।

समारोहका वक्ताहरूले २०१२ चैत्र १६ गते स्वर्गीय कृष्णप्रसाद भट्टराईको नेतृत्वमा स्थापित नेपाल पत्रकार महासंघ सोही पत्रकार संघलाई पुनर्गठन गरी बनाइएको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक रुपमा सम्मान गर्नुपर्ने माग गरेका थिए ।