उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल « Image Khabar


उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच पार्टी एकीकरण

221
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा जनवादीबीच पार्टी एकीकरणको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले उद्यमी युवाहरूलाई सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारले उद्यमशीलताको विकास र उत्पादनको क्षमता नबढाएको हुनाले मानिसहरूमा आत्मविश्वास बढ्न नसकेको दाबी गर्नुभयो ।

अध्यक्ष नेपालले दलाल पूँजीको दबदबा बढिरहेकोले देशमा मेहेनत नगरीकन पैसा कमाउने प्रवृत्ति, रातारात अर्बपति बन्ने चाहना र अरुलाई लुटेर कमाउने प्रवृत्ति हुर्किरहेको भन्दै त्यस्ता प्रवृत्तिलाई समाप्त पार्नुपर्ने बताउनुभयो ।

उहाँले शासन सञ्चालनको तरिकामा सुधार गर्नुपर्ने भन्दै केन्द्रीय सरकारले प्रादेशिक र प्रदेश सरकारले स्थानीय सरकारका काम कारबाहीमा निगरानी राख्न आवश्यक रहेको बताउनुभयो ।

पार्टीले पनि आफ्ना कार्यकर्ताहरूले कसरी काम गरिहरेका छन् भनेर अनुगमन गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष नेपालले इमान्दारिता, निष्ठा र समर्पण नै एउटा नेताको लागि आवश्यक र उचित हुने भन्दै जनताको मन जित्न यी काममा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई अरु सरकार भन्दा यो सरकार फरक हुनुपर्ने कुरा राखेको र देशका प्राथमिकता र नीति बनाउने कुरामा विज्ञसँग सुझाव लिन सुझाएको बताउनुभयो ।

अध्यक्ष नेपालले देश विकास गर्नका लागि आफैं अघि सरेर काम गर्न तयार रहेको भन्दै समस्याको समाधान गर्ने कुरामा आफू प्रतिवद्ध रहेको बताउनुभयो । वंशानुगत तानाशाही प्रवृत्ति सकिसके पनि व्यक्तिगत तानाशाही प्रवृत्ति देशमा हाबी भइरहको भन्दै यो सह्य नहुने बताउनुभयो ।

अध्यक्ष नेपालले सरकारले व्यवहारमा प्रयोग गर्ने योजना र प्राथमिकता तय गर्न नसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमको प्रदेशसभामा एक नम्बर पार्टीको रूपमा नेकपा समाजवादी स्थापित भएको दाबीसमेत गर्नुभयो ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिमा कसैले पनि आफ्नो पार्टीलाई बेवास्ता गर्न नसक्ने बताउँदै युवाहरूले देशमा आफूलाई योग्य र सक्षम देखाउनुपर्ने बताउनुभयो ।