रोमन आचार्य र राजेन्द्र नापित (इमेज)
काठमाडौं, माघ २० । केही विश्लेषकहरुले सत्तारुढ दल नेकपाले ‘एमसीसी’ परियोजना अस्वीकार गर्ने उपाय खोज्दै त्यसैका लागि कार्यदल गठन गरेको शंका व्यक्त गरेका छन् ।
अमेरिकी सहयोग परियोजना ‘एमसीसी’बारे नेकपाको केन्द्रीय कमिटी बैठकले ठोस निर्णय लिन्छ भन्ने अपेक्षाविपरीत बैठक अनिर्णीत रह्यो । आन्तरिक द्वन्द्वका कारण नेकपा निर्णयमा नपुगेको स्पस्टै छ ।
यसले नेकपाभित्रको आन्तरिक शक्ति सन्तुलनलाई पनि उजागर गरेको छ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीबाट एमसीसीको पक्षमा निर्णय गराउन नसकेपछि पार्टीमा आफ्नो हालीमुहाली छ भन्ने अध्यक्ष ओलीको दम्भको पारो घटेको राजनीतिक विश्लेषक झलक सुवेदीको ठम्याइ छ ।
एमसीसी परियोजनाबारे नेकपामा चर्को आन्तरिक कलह छ । एमसीसीको पक्ष या विपक्षमा निर्णय लिँदा पार्टीमा थप ध्रुवीकरण हुने खतरा टार्न अध्ययन कार्यदल बनाएर टाललुट पारिएको टिप्पणी गर्छन्, वरिष्ठ पत्रकार प्रतीक प्रधान ।
वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसीसी अध्ययन कार्यदल बनाइएको छ । एमसीसीको पक्षमा खुलेर नदेखिएका खनालको संयोजकत्वमा अध्ययन समिति बनाउँदा अनेक आशंका जन्मिएको छ ।
नेकपाले एमसीसी परियोजना टार्ने बहानाबाजी बनाउन खोजेको विश्लेषण हुन थालेको छ ।
एमसीसीको पक्ष या विपक्ष जता उभिएपनि नेकपालाई चुनौती आउनसक्छ । तसर्थ, खनाल कार्यदलमार्फत् प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले एमसीसीको पक्षमा निर्णय गराउने मनसाय राखेको पनि हुनसक्छ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेस एमसीसी संसदबाट अनुमोदन गर्नुपर्ने पक्षमा स्पस्ट छ । नेकपा अनिर्णीत हुँदा एमसीसीको भविष्यमाथि अनेक प्रश्न उब्जिनु स्वाभाविक हो ।









प्रतिक्रिया दिनुहोस्