Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


रेडक्रसमा भागशान्ति ‘जय नेपाल’ हैन ‘मिली शान्ति’ हुनुपर्छ: सञ्चारमन्त्री


0
Shares

काभ्रे । सञ्चार तथा सूचना प्रविधि गोकुलप्रसाद बाँस्कोटाले  रेडक्रसमा ‘मति र गति’ भावनानुसार नपाइएपछि विवाद उत्पन्न भएको बताएका छन् ।

नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोकद्वारा ‘ग्रामीण आपत्कालीन तथा ट्रमा प्रणाली सदृढीकरण परियोजना’ अन्तर्गत आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै उनले  भने “रेडक्रसजस्तो मानवीय पवित्र संस्थामा किन यस्ता विवाद उठ्छन्, रेडक्रसको विश्वव्यापी मान्यता जे छन् सोहीअनुसार चल्नुस्, कुनै समस्या÷विवाद आउँदैन  ।”

कमाउधन्दा तथा व्यापारिक संस्थामा विवाद उठ्नु स्वाभाविक मान्ने गरिए पनि विशुद्ध मानवीय भावना बोकेको संस्थामा विवाद आउनु सुखद नभएको उनले बताए ।

मन्त्री बाँस्कोटाले रेडक्रसको आँगनभित्र ‘राजनीति’ अन्त्य हुनुपर्नेमा जोड दिँदै भने, “व्यक्तिका आआफ्ना विचार होलान् तर रेडक्रसको आँगनभित्र राजनीति अन्त्य गर्नुस्, कहिले पनि विवाद आउँदैन ।”

रेडक्रसको पछिल्लो नेतृत्वले ‘राजनीति’ गरेको छैन होला भन्नेमा आफू विश्वस्त रहेको उनको धारणा थियो ।

मन्त्री बाँस्कोटाले ‘सहयोगी राष्ट्रका जनताले कमाएको केही बचाएर नेपालीलाई गरेको सहयोगको विषयमा विवाद उत्पन्न हुँदा कस्तो अर्थ राख्छ भन्ने प्रश्न गर्दै भने “डोनर एजेन्सी (क्यानेडियन) ले पनि त कमाएको पैसाबाट बचाएर हामीलाई सहयोग गरेको हो, यस्तो विषयमा ‘भागशान्ति जय नेपाल’ हैन ‘मिली शान्ति’ एकदम राम्रो हो ।”

रेडक्रसकर्मीको व्यक्तिगत विचार लाद्ने स्थान रेडक्रस नभएको उनले दोहोर्‍याए । मन्त्री बाँस्कोटाले रेडक्रसलाई ‘टोल फ्री’ नम्बर उपलब्ध गराउन आफूले पूर्णरुपमा सहयोग गर्ने आश्वासन दिए ।

“नागरिकलाई सेवा दिन, नागरिकको दिगागमा बसिरहने एउटा सजिलो नम्बरको निम्ति म सहयोग गर्छु, यसमा सञ्चारको मात्रै भएर पुग्दैन गृहको पनि सहमति चाहिन्छ, सभासमारोहमा भाषण गरेर हुन्न, तपाईंहरु तत्कालै आउनुस्”,  उनले भने ।

सो मन्त्री बाँस्कोटाले क्यानेडिएन रेडक्रसमार्फत काभ्रेपलाञ्चोकको पोखरीचौरी र बेथानचोक गाउँपालिकालाई प्रदान गरिएको एम्बुलेन्सको साँचो सम्बन्धित गाउँपालिका अध्यक्षद्वयलाई हस्तान्तरण गरेका थिए ।  रासस