काँग्रेसको सवारी ‘सरर’ कि ‘डिस्को र भाङ्डा’ ? « Image Khabar


काँग्रेसको सवारी ‘सरर’ कि ‘डिस्को र भाङ्डा’ ?


221
Shares

पेशल आचार्य

काठमाडौं। वर्तमान काँग्रेस महाधिवेशनलाई नजिकबाट नियालेर आफ्नो प्रतिक्रिया दिने क्रममा चर्चित अभिनेता दीपकराज गिरी छोटो तथा मिठो शब्दमा यसो भन्छन् –‘काँग्रेस चुनावमा –२ ‘प’ को दरो भिडन्त । ‘पावर’ र ‘परिवर्तन’ । दुवै बराबर जस्तै रहेछन् । अब पावरले जित्ला वा परिवर्तनले ?’

उनले यसो भनिरहँदा काँग्रेस महाधिवेशनमा शेरबहादुर देउवाको पूरै प्यानलले बहुमत जितेको छ । केही पदहरूमा युवाहरूले समेत जितेका छन् तर यसो भनिरहँदा युवा र परिवर्तनका पक्षधरहरूको ‘प्यारलाल’ लडाइँ बँचाएर लैजान सकेभने मात्र काँग्रेसले यो आउँदो पाँच वर्षमा महामन्त्री गगन थापाले भनेजस्तो काँग्रेसलाई सुनिने, बुझिने र पढिने पार्टीे बनाउन सजिलो हुन्छ । अब त्यो कार्यभार काँग्रेसजनकै काँधमै आएको छ । हामी बाहिरफेर रहेर शुभेच्छा दिनेहरूले त सल्लाह, सुझाव र टिप्पणी मात्र गर्ने हो ।

सन्दर्भ फेरि पनि काँग्रेस महाधिवेशन कै । पोखराबाट विश्लेषक विश्व सिग्देल लेख्छन्– ‘यही महाधिवेशन काठमाडौँमा हुँदा राजधानी–तराई द्रूतमार्ग बन्ने रकमभन्दा बढी खर्च भयो भन्ने सुनिन्छ । हाम्रो पालामा सुन्धाराका होटल र झोँछे तिरका सेकुवा पसलमा चहलपहल बढी हुन्थ्यो, अहिले पाँचतारे होटल र रेष्टुरा बार खचाखच भए भन्ने सुन्थेँ । कलबलगुडीमा खुला आकासमा बोराले तगेको डनसामाथि सुतेको ज्यान यहीँ छ । देशलाई अझै कति कंगाल बनाउने हो र अर्को अधिवेशन ? अमेरिकाले बनाई दिएको विधानमा टेकेर जापान कोरियाले अमेरिकालाई जिते । संविधान सभाले बनाएको कबाडी संविधानजस्तै बनाउने विचार हो ज्वाइँ साहेब ?’ उनले यसो भनेर नेपाली काँग्रेसका वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई लक्षित गरेका हुन् ।

‘नेपाली काँग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको छ तर कुनै नीतिगत बहस नभएकोले नुन विनाको तरकारीजस्तो भएको छ । नीतिगत महाधिवेशनको विषयमा नेकाँले गम्भीर रूपमा छलफल प्रारम्भ गरोस् ।’ – नेपाल शिक्षक संघका पूर्व अध्यक्ष तथा काँग्रेस शुभेच्छुक मोहन ज्ञवाली आफ्नो तीतो पोख्छन् । उनी कोइराला प्यानलबाट केन्द्रीय सदस्यमा उठेका थिए तर पराजय भोगे । बास्तवमा काँग्रेसले यो महाधिवेशनमा नीतिगत छलफल गराउने, चर्चा र बहस गर्ने आवश्यकता नै देखेन ।प्रदेशमा सांसद पाँच सय ५० र मन्त्री एक सय ६३ तब न सङ्घीयता !’ नेपाल शिक्षक संघकै पूर्व अध्यक्ष तथा राजनीतिक विश्लेषक केशवप्रसाद भट्टराई आफ्नो वालमा लेख्छन् ।

‘जथाभावी मन्त्रालय टुक्र्याएर संघीयतालाई बद्नाम गर्ने काम मुख्यमन्त्रीहरूबाट हुँदैछ । गठबन्धनका शीर्ष नेताहरू ! अविलम्ब यस्ता विसंगत हर्कत रोक्नुस् । मन्त्री फुर्को जोड्दैमा वैतरणी तरिने हैन, किन यति धेरै मरिहत्ते गर्या होलान् मन्त्री हुन मान्छेले व्यवस्था बद्नाम हुने गरी ? ओली प्रतिगमन एउटा फेज थियो, त्यसले मात्रै गठबन्धन सधैँ पानी माथिको ओभानो भइरहँदैन । जनभावना माथिको खेलवाड महँगो पर्ला !’ जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक डम्मर खतिवडा आफ्नो विचारोत्तेजक अभिव्यक्ति प्रस्तुत गर्दै भन्छन् ।

‘सके संसद विघटन गर, नसके अवरुद्ध गर । कुनै विधेयक संसदमा छलफल पास हुन नदेऊ । अध्यादेशले शासन गर, अध्यादेशले शासन गर्न बाध्य पार । अत्यावश्यक ऐेन कानुन पनि नबनाऊ, बन्न नदेऊ । एम्सिसी ४ वर्षदेखि रोकिराख, देशको विश्वासयिनता विश्वसामु समाप्त पार । कुकुर–बिरालोजस्तो सधैँ झगडा गर । जनहितका विषयमा कहिल्यै बहस संसदमा नगर । अनि सबै मिलेर एक स्वरले उच्च आवाजमा भन –संसदीय लोकतन्त्र जिन्दावाद ! संसारकै उत्कृष्ट संविधान र व्यवस्था –अमर रहोस् ।’ जसपाका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक खतिवडा अझ अगाडि भन्छन् ।

हिन्दीमा एउटा भनाइ छ –‘दूर, जितनी भी दूर तुम देख सकते हो, हमेशा याद रखना, उसके आगे भी मंजिलेँ हैँ ।’ यो भनाइ यतिखेर लोकतन्त्रसँग तादाम्यता राखेर हेर्न सकिन्छ ।

‘अहिलेको लोकतन्त्र गरिब, मिहिनेतकश र श्रमिकका झुपडीमा पुगिसकेको छैन । यो पुग्नका लागि कम्तिमा पनि दसकको यात्रा लोकतन्त्रले तय गर्नु पर्छ । अहिले देखिएका घटना र परिघटनाहरू मात्र बाढी आएका बेलामा नदीमा बगाएर ल्याएका काठ, कसिङ्गर र घैमल हुन् । यो स्थिति सुध्रिनमा धेरै समय लाग्छ । नदीले आफ्नो फोहर आफैँ शुद्ध गरेझैँ लोकतन्त्रले आफ्नो गति आफैँ लिन्छ । धेरैजसो बौद्धिक व्यक्तित्वहरूले यही अवधारणा राखेर ‘वेट एन्ड सी’ को अवधारणाले हेरिरहनु भएको छ ।’ यतिखेर जापानको क्योटो युनिभर्सिर्टीमा दक्षिण एसियाको अर्थशास्त्र विषय अध्यापन गराइरहनु भएका भिजिटिङ् प्रोफेसर दीपेशकुमार घिमिरे सगौरव बताउनु हुन्छ ।

‘काँग्रेस बाँच्ने भो अब, ढुक्क । अन्यथा नालायक ‘कपूत’ हरूले रछ्यान नै बनाउन लागिसकेका थिए पार्टीहरूलाई ।’ सम्पादक तथा चर्चित साहित्यकार विमल भौकाजीले फेसबुकमै भनेका छन् ।

‘डाक्टर भन्या डाक्टर नै हुन् । महामन्त्रीमा नबिकेको झोँकमा जाबो रक्षामन्त्री ? नैतिकता र राजीनामाको भेट यता भयो जे भए पनि ? पार्टीभित्र नपत्याइने मान्छेले देशमा मन्त्री हुन सुहाउन्न । ठिक गर्नु भयो डाक्टर रिजाल ?’ –काँग्रेस महामन्त्रीमा पराजय भोगेका मीनेन्द्र रिजालले चुनावी परिणामलाई तत्काल स्वीकारेर रक्षा मन्त्रीबाट दिएको राजीनामा बारे युवा लेखक सञ्जीव कार्की भन्छन् ।
अर्का आर्थिक युवा पत्रकार निरोशकुमार थापा भन्छन् –‘न रुपान्तरण, न पुस्तान्तरण, न हस्तान्तरण ओन्ली नवीकरण ।’ यसमा श्याम व्यङ्ग्यको भाव निहीत छ ।
‘रूखिएको बाँच्छोले चैँ हिँड्न जान्दैनन् । उफ्रेको मात्र हुन भन्ने प्रमाणित गर्यो । अब गाईको बाच्छोले चैँ उफ्रेको हैन हिँड्नै जान्दछु भनी आफूलाई प्रमाणित गर्न बाँकी नै छ, आखिर समय बलवान् छ । हेर्ने हामी छँदै छौं । राप्रपाबाट नव निर्वाचित अध्यक्ष बनेका राजेन्द्र लिङ्देन र एमाले अध्यक्ष केपी ओलीको काँग्रेस महाधिवेशनमा भएको दोहोरीलाई चित्रण गर्ने क्रममा युवा कानुन व्यवसायी रामहरि के.सी. भन्छन् ।

‘थोत्रो कोट लगाऊ, थोत्रै किताब पढ, सन्दर्भ एमाले अधिवेशन’ –लेखक तथा शिक्षक सरोज बराल भन्छन् ।
‘नेता त दर्शन र स्पाति दृष्टिकोणले भइन्छ न कि दलालीले । दिसापिसाब त्यागले वर्तमानमा बाँचिन्छ इतिहासमा होइन ।’ एक प्रजातन्त्रवादी युवा आफ्नो तीतो पोख्छन् ।

‘सबै एक ठाउँमा उभिएर शेखरलाई एक्लाउनुको पनि गहिरो राजनीतिक अर्थ छ । मान्नुस् यो महाधिवेशनले शेखर कोइरालालाई खास नेता बनायो । दल भित्रको एउटा सशक्त समूहको अगुवा स्थापित गर्‍यो । मैले बुझेको यही हो ।’ काँग्रेस महाधिवेशनको रहलपहल विचारको विट मार्दै अर्का चर्चित युवा पत्रकार नारायण अमृत आफ्नो फेसबुक स्टाटसमा भन्छन् ।

अब जनता जनार्दनले हेर्न बाँकी छ –काँग्रेसका यी आगामी पाँच वर्षहरू फाष्ट ट्र्याकमा हिँडेको सवारीझैँ ‘सरररर’ हुन्छ कि नेपाली दूर्गम गाउँवस्तीमा हिँडेको ट्रयाक्टरझैँ ‘डिस्को र भाङ्डा’ गर्दै नाच्ने शैली । समयले परख गरेर जवाफ आफैँ स्वतःस्फूर्त रुपमा दिनेछ ।