राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता « Imagekhabar – Online News Portal of Nepal
२४ श्रावण २०७९, मंगलवार | Wed Aug 10 2022


राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन १२ वटा दल दर्ता


416
Shares

काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा १२ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन राजनीतिक दल दर्ताको समयावधि शनिबारसम्म तोकिएको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार शुक्रबार माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा) र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टीले निवेदन दिएका थिए ।

त्यस्तै शनिबार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस र नेपाल परिवार दलले निर्वाचनमा भाग लिन पाऊँ भन्दै निवेदन दिएका हुन् ।

आयोगका अनुसार पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली र दललाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । आयोगको बैठक डाकेर ती दलहरूलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो । राष्ट्रियसभाका सदस्यमध्ये फागुन २० गते पदावधि समाप्त हुनेमा नेकपा एमालेका आठ, नेकपा एसका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन सदस्य छन् ।

निर्वाचन आयोगले निर्वाचनका लागि सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई सोही जिल्लामा पुस १२ गतेदेखि लागू हुनेगरी निर्वाचन अधिकृतमा नियुक्ति गरेको छ ।

निर्वाचनका लागि प्रदेशसभा सदस्यहरू ५ सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४ सय ९३ गरी जम्मा २ हजार २५ जनालाई आयोगले मतदाता कायम गरेको छ ।