Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन, झलनाथ खनाल संयोजक


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी केन्द्रीय कमिटी बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे अध्ययन गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ।

आइतबारको बैठकमा सदस्यहरुले उठाएको प्रश्नमा जवाफ दिँदै अध्यक्ष पुष्पकमल दाहालले कार्यदल गठन गरेको जानकारी दिए ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् । कार्यदलले १० दिनको म्याद पाएको छ ।

कार्यदलले उक्त अवधिमा अध्ययन प्रतिवेदन तयार गरी बुझाउनुपर्ने छ । बैठकमा धेरै नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुनेमा जोड दिएका थिए ।

नेकपामा एमसीसी सम्झौतालाई लिएर तीब्र मतविभाजन छ । यसैबीच अध्यक्ष दाहालले राजनीतिक प्रस्तावमा उल्लेखित अमेरिकाको इन्डो–प्यासिफिक स्ट्राटेजी (आइपीएस) चीनलाई घेरा हाल्नका लागि ल्याइएको भनी लेखिएको भनाई फिर्ता लिने बताएका छन् ।

अध्यक्षद्वयको प्रतिवेदनमा उल्लेखित सो भनाइको केही सदस्यहरुले चर्को आलोचना गरेपछि जारी केन्द्रीय समितिमा अध्यक्ष प्रचण्डले सदस्यहरुलाई जवाफ दिने क्रममा सो कुरा प्रष्ट्याएका छन् ।

प्रतिवेदनको पृष्ठ ८ मा अमेरिकारले हिन्द महासागर वरिपरिका क्षेत्रहरुमा आफ्नो प्रभुत्व विस्तार गर्ने, प्रभुत्व कायम गर्ने र पहिलो आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा इण्डो प्यासिफिक रणनीति अगाडी बढाइरहेको उल्लेख गरिएको छ ।

यस सन्दर्भमा नेकपा र सरकारले आफू कुनै पनि बाह्यय सैन्य गठबन्धन र सैन्य रणनीतिको हिस्सा नभएको र हुन पनि नसक्ने कुरा स्पष्ट गरेको प्रतिवेदनमा बताइएको छ ।