
काठमाडौं । सत्तारुढ नेकपाको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष र महासचिवले जवाफ दिने भएका छन् ।
चार दिनदेखि जारी बैठकमा केन्द्रीय सदस्यहरुले समूहगत रूपमा उठाएका प्रश्नको आज नेतृत्वले जवाफ दिने भएको हो ।
हिजो र शुक्रबार पन्ध्र समूहका टोली नेताले समूहगत छलफलको निस्कर्ष पेश गरेपछि नेतृत्वले आज जवाफ दिन लागेको हो ।
जवाफ दिनुअघि सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । सचिवालयले निकाल्ने निष्कर्षका आधारमा बैठकमा नेतृत्वले जवाफ दिने नेताहरुले बताएका छन् ।
जवाफ अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दिने नेकपाको तयारी छ । विधानका विषयमा उठेका प्रश्नको महासचिव विष्णु पौडेलले जवाफ दिने बताइएको छ ।
केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली विलासी बनेको, पार्टी र नेतामा भ्रष्ट आचरण मौलाएको, पार्टीमा नेतृत्वले नै गुटको नेतृत्व गरेको, सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेकोजस्ता विषय उठेका छन् ।
साथै एमसीसी अनुमोदन गर्नु नहुने अडान समेत सदस्यहरुले राखेका छन् ।
प्रतिक्रिया दिनुहोस्