
धनगढी । गत साउन दोस्रो साता मोहना नदी उर्लिएर घरको आँगनमै पसेपछि भजनी नगरपालिका–७ हिम्मतपुरका सर्मन डगौराको परिवार विस्थापित भयो । धन्न प्रहरी र स्थानीयको सहयोगमा कच्ची घर भत्काएर सामान सुरक्षित ठाउँमा सार्न भ्याए ।
केही दिनमै घर रहेकोसमेत दुई कट्ठा जमिन पनि मोहनामा मिल्यो । स्थानीय जनप्रतिनिधिलगायतको सर्वदलीय बैठकले हिम्मतपुर सामुदायिक वनछेउमा बस्न सहमति दिएपछि बालबालिकासहित १० जनाको परिवारलाई ओत लाग्न त्यहीँ अस्थायी टहरो हाले ।
तर, बुधबार भजनी सबडिभिजन वन कार्यालयले टहरोमा डोजर लगाएपछि डगौरा परिवारको फेरि उठीवास लागेको छ । सर्मनसँगै हिम्मतपुरका ४० परिवारको टहरा वन कार्यालयले डोजर लगाएर तहसनहस बनाइदिएको हो ।
सर्मनकी श्रीमती दुई महिनाकी सुत्केरी छिन् । उनले आफ्नो जायजेथा सम्झिँदै राज्यलाई प्रश्न गरे, ‘घर छैन, जमिन पनि खोलामै मिल्यो । यहाँबाट पनि उठीवास लगाएपछि पुसको ठण्डीमा दुई महिनाकी सुत्केरी र नाबालक सन्तानलाई कहाँ लगेर राखौँ ?’
सर्मनलगायत सबै विस्थापित परिवार वनछेउको कच्ची सडकमा सामान राखेर खुला आकाशमुनि बसिरहेका छन् । बाढीपीडित हिरादेवी डगौराले बालबालिका र बुढापाकालाई चिसोबाट जोगाउन चिन्ता परेको बताइन् । ‘आफ्नो घर रहेको एक कट्ठा जग्गामा अहिले खोला बगेको छ । वनछेउमा कष्ट भए पनि टाउको लुकाउन पाइएको थियो, तर त्यही पनि भत्काइदिए,’ उनले भनिन्, ‘कहाँ गएर बस्ने सरकारले देखाइदेओस् ?’
प्रतिक्रिया दिनुहोस्