१३ आश्विन २०८०, शनिबार | Sun Oct 1 2023


धर्नास्थलमै पढ्न र लेख्न सिक्दै


91
Shares

काठमाडौं । सहेदा दर्जीले बाँकेका दुई महिला नकुन्नी धोबी (मारिएकी) र निर्मला कुर्मी ९बेपत्ता पारिएकी०को न्यायका लागि नेपालगन्जबाट आएर काठमाडौंमा धर्ना दिएको २६ दिन भयो । उनले हरेक दिन माइतीघरको चिसोमा बसेर सिंहदरबारलाई ब्युँझाउने कोसिस मात्रै गरेकी छैनन्, धर्नास्थलबाटै आफूलाई साक्षर नागरिकमा बदल्न सफल भएकी छिन् ।

बाँके परसपुरकी ३५ वर्षीया दर्जी घरबाट काठमाडौं निस्किँदा आफ्नो नाम पनि लेख्न जान्दैनथिन् । अहिले ‘माइन्युट’मा आफैँ हस्ताक्षर गर्न सक्ने भएकी छिन् । आफ्नो मात्र होइन, श्रीमान्, छोराछोरीसहित परिवारका अन्य सदस्यको नामसमेत प्रस्टसँग लेख्न सक्छिन् । आन्दोलनमा सहभागी हुन उनी कहिल्यै रित्तो आइनन्, हरेक दिन झोलामा किताब, कापी र कलम ल्याइन् । दिनभर आन्दोलनस्थलमै ‘साँवा’ अक्षर चिन्ने र लेख्ने कोसिस गरिन् जसले उनलाई साक्षर बनायो । थप सिक्ने प्रयास जारी छ ।

सोमबार माइतीघर मण्डलाको आन्दोलनस्थलमा भेटिएकी उनले मुस्कुराउँदै भनिन्, ‘हामी १० बजेबाट आन्दोलनमा सहभागी हुन्छौँ । कापी, किताब र डटपेन पनि सँगै ल्याउँछौँ । दिनभर यहीँ पढ्छौँ । मैले त आफ्नो मात्रै होइन, परिवारका सबैको नाम लेख्न जानिसकेँ ।’

नेपालगन्जकै ३० वर्षीया रिना चमारको घरमा पढेका कोही छैनन् । उनी पनि अक्षर चिन्दिनथिन् । तर, धर्नाका २४ दिनले उनको विगत नै बदलिएको छ । उनलाई अहिले आफ्नो र परिवारका सदस्यको मात्रै होइन, जन्मेको गाउँको नामसमेत लेख्न आउँछ । कलंकी बस्ने उनी आन्दोलनमा आउँदा झोलामा कापी र कलम हाल्न छुटाउँदिनन् ।

‘घरमा पढेलिखा कोही नाइँ । तर, अब मलाई लेख्न आउँछ । यहीँ सबै सिकिसकेँ । अब माइन्युटमा आफैँ हस्ताक्षर गर्छु । घर पुगेर श्रीमान्लाई पनि मैले जानेको सिकाउँछु,’ उनले सुनाइन् ।

नयाँ पत्रिका