अक्कल कुँवर
काठमाडौं । दोस्रो कार्यकालका लागि सभापति निर्वाचित हुनुभएका सभापति देउवा केन्द्रीय कार्यसमितिमा सुविधाजनक बहुमततर्फ उन्मुख देखिनुभएको छ ।
कांग्रेसमा २ उपसभापतिको व्यवस्था भएकोमा देउवा पक्षबाट पूर्णबहादुर खडका निर्वाचित हुनुभएको छ । महामन्त्रीमा भने देउवा प्यानल निल छ । २ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।
पार्टीको संशोधित विधानले व्यवस्था गरेको ८ जना सहमहामन्त्रीमध्ये देउवा प्यानलका ६ हुँदा इतर प्यानलका २ जना मात्र निर्वाचित भएका छन् । देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय, भीष्मराज आङ्देम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, फरमुल्लाह मन्सुर र उमाकान्त चौधरी सहमहामन्त्रीमा रुचाइए । चौधरी नेता कृष्णप्रसाद सिटौला निकट भए पनि निर्वाचनमा देउवा र सिटौला पक्षबीच प्यानल बनेको थियो ।
शेखर समूहबाट सहमहामन्त्रीमा जीवन परियार र बद्री पाण्डे मात्र विजयी भए । खुला ३५ जना केन्द्रीय सदस्यमा पनि देउवा पक्ष नै हावी देखिएको छ । देउवा समूहका २५ चुनिँदा कोइराला समूहका ९ जना मात्र निर्वाचित हुन सफल भएका छन् ।
सभापतिका प्रतिस्पर्धी ३ उम्मेदवारको सूचीमा परेका निवर्तमान महामन्त्री शशांक कोइरालाले खसेको मतको ८१ प्रतिशत मतसहित महाधिवेशनकै सबैभन्दा लोकप्रिय मत पाउन सफल भए । खुल्ला सदस्यतर्फ प्रकाशमान सिंह समूह निल भएको छ । भूगोलतर्फ प्रदेश २ बाट देउवा पक्षकै ३ जना केन्द्रीय सदस्य निर्वाचित भए ।
प्रदेश २ बाट आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल सर्वसम्मत निर्वाचित हुँदा चित्रलेखा यादव प्रतिद्वन्द्वी उम्मेदवारलाई भारी मतले पराजित गरेर निर्वाचित हुनुभएको हो । पिछडिएको क्षेत्रबाट निर्वाचित केन्द्रीय सदस्य अर्जुनजंगबहादुर सिंह पनि देउवा समूहकै नेता हुनुहुन्छ । अहिलेसम्म देउवा पक्षका २९ केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन् ।
खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी रहँदा भूगोलबाट अन्य प्रदेशको मतगणना हुन बाँकी छ । समावेशी समूह अन्र्तगत अपाङ्गता, अल्पसंख्यक, दलित, आदीवासी जनजाती, मधेशी,खसआर्य, मुस्लिम र थारु तर्फको मतगणना बाँकी छ ।
कांग्रेसको विधानमा १६७ सदस्यीय केन्द्रीय समितिमध्ये ३३ जना केन्द्रीय सदस्यको मनोनित गर्ने अधिकार सभापतिलाई दिएको छ । पदाधिकारी, खुला केन्द्रीय सदस्यमा बहुमत र भूगोलका केही उम्मेद्वार सर्वसम्मत हुँदा सभापति देउवा अघिल्लो कार्यकालभन्दा दोस्रो कार्यकाल थप सुविधाजनक बहुमततर्फ उन्मुख देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्