कांग्रेसको ऐतिहासिक महाधिवेशन « Image Khabar


कांग्रेसको ऐतिहासिक महाधिवेशन


338
Shares

संजिव कार्की
काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १४ औ महाधिवेशन भव्यताका साथ सम्पन्न गरेर पार्टी सभापति,उपसभापति,महामन्त्री र सहमहामन्त्रीहरु निर्वाचित गरिसकेको छ ।

केन्द्रीय सदस्यहरुको मत गणना कार्य हुँदैछ । चितवनको सौराहामा एमालेले गरेको लाखौंको जन प्रदर्शन जस्तो प्रदर्शन नगरेर पनि एक लोकतान्त्रिक दलको अधिवेशन कस्तो हुन्छ र हुनुपर्छ सो को दृष्टान्त भने कांग्रेस महाअधिवेशनले पेश गरेको आम मान्छेको बुझाइ छ । जनप्रदर्शनको मामलामा एमालेको अधिवेशन ऐतिहासिक र युगान्तकारी रह्यो सम्भवतः पार्टी महाअधिवेशनमा यस अघि कहिल्यै त्यति मान्छेको सहभागिता भएको थिएन होला ? जनपरिचालन र प्रदर्शनमा एमालेले आफ्नो कौशलता प्रदर्शन गर्यो । पार्टी भित्रको लोकतन्त्र र लोकतन्त्रको आत्मा चुनाव मार्फत आफ्ना प्रतिनिधि छनौटको हक र अधिकारमा नेपाली कांग्रेस पार्टीको अभ्यास अर्को ऐतिहासिक अधिवेशनको दिन बन्यो । इतिहासमा यतिधेरै पदाधिकारी र सदस्य गरेर १३४ पदको निर्वाचन माध्यमबाट चुन्ने काम पहिलोपटक सम्पन्न गरेर आफूलाई लोकतन्त्रको मसिहा र हिमायती दावी गर्ने कांग्रेसको यो अभ्यास दावी अनुकुल नै थियो भन्न सकिने ठाउँ छ । कांग्रेस महाधिवेशनबारे चीनका लागि पूर्व नेपाली राजदूत विश्लेषक,एमाले नेता टंक कार्कीको भनाइ यहाँ सान्दर्भिक छ । “कांग्रेस महाधिवेशनमा कसले जित्यो कसले हार्यो कांग्रेस भित्र यसको विशेष अर्थ राख्छ नै, प्रकारान्तरले मुलुककै निम्ति पनि खास अर्थ राख्दछ ।

तिनको महाधिवेशनको विशेष महत्ता चाहिँ तिनले अभ्यास गरेको प्रतिस्पर्धाको ढाँचा हो । प्रतिष्पर्धाले बर्बाद गर्छ, जोरीपारी हँसाउछ भन्ने तर्कको सुक्रिबिक्री पनि त्यहा भएन । प्रतिस्पर्धा उत्ताउलो हुनबाट पनि तिनले जोगाए । संस्थापन पक्षले प्रतिपक्षलाई पनि आफू जस्तै सामूहिक प्रतिस्पर्धाको मौका मात्रै दिएन, प्रतिपक्षलाई निशस्त्र पारेर मतदानको निम्तो नेगेटिभ लिष्ट पनि बाँडेन । अन्ततः छनौट एकांगी पनि भएन । यसको पछाडि प्रतिनिधिहरुको गुणवत्ता नै हो । नेकपा एमालेको नवौं महाधिवेशनमा पनि दुई भिन्न समूहको प्रतिस्पर्धाको बाबजूद पनि सन्तुलित संरचना बनेको थियो । कांग्रेस र राप्रपाको महाधिवेशनको साझा सन्देश चाहिँ नेपाली समाज राजनीतिको नेतृत्व विशेषगरी पुस्तान्तरणको व्यग्र प्रतीक्षामा छ भन्ने नै हो । राजनीतिमा खट्केको के मात्रै हो भने मुद्दा र सामाजिक मिसनले अझै प्राथमिकता पाउन सकेको छैन, तर दवाब भने बढ्दै गएको छ । ढिलो चाँडो परिपक्वता आउँछ नै ।’’

चुनाव लड्न आफूले इच्छाएको पदमा मनोनयन गरेर जान कुनै रोकतोक थिएन कांग्रेस अधिवेशनमा, जसले गर्दा १३४ स्थानको लागि करिब पाँच सय उम्मेदवार आफ्नो भाग्य र भविष्यका लागि परीक्षणमा जान तयार भए । एमालेले आफ्नो महाधिवेशनमा चुनावलाई रोक्न भरमग्दुर प्रयत्न गर्यो र आखिरमा भीम रावलको जिद्दीलाई थामथुम पार्न चुनाव मन्चन गर्यो । त्यो केवल देखावटी,बनावटी नियन्त्रित र भ्रम छर्न मात्रै प्रर्याप्त थियो, सबै नाममा एमाले अध्यक्ष खड्ग ओलीको खल्ती र मर्जीको नाम अनुमोदन गर्नु पर्यो । परम्परागतरूपमा पंचायतको विरासत बोकेको भनेको दल राष्ट्रिय प्रजातन्त्र पार्टीले एमाले भन्दा पर गएर आफूलाई लोकतान्त्रिक विधि र पद्दतिको दल भन्न मिल्ने गरि आन्तरिक चुनावी अभ्यास गर्यो र उसले त नेतृत्व चुन्न समेत छलाङ हान्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीको पुरानो विरासत तोडेर युवा राजेन्द्र लिङदेनलाई आफ्नो मुखिया चुन्यो, पार्टी सत्ता पुस्तान्तरणमा पहिलो भयो ।

एमालेको दाँजोमा कांग्रेसको महाधिवेशन अत्यन्तै प्रजातान्त्रिक र स्वतन्त्र थियो । यो मानेमा ओलीलाई कांग्रेस प्रजातान्त्रिक बनेन भनेर भन्ने ठाउँ छैन बरु कांग्रेसलाई एमाले भित्रको आन्तरिक जनवाद भनेको ओलीको कोटको खल्तीको लिस्ट भन्ने अवसर चै मिल्यो । ओलीको पार्टीलाई व्यङग्य गरेर लिङदेनको जति पनि प्रजातान्त्रिक छैनौ भनेर भन्ने प्रसस्त ठाउँ भयो । कांग्रेसले आन्तरिक प्रतिस्पर्धा र लोकतन्त्रको अभ्यास हुँदा हुँदै पनि समानुपातिक र समावेशीको मर्म विपरित कांग्रेस नेताहरू गरीव, दःखी, विपन्न र सीमान्तकृतको लागि छुट्याइएको आरक्षण कोटामा विनोद चौधरी मधेशी बनेर लडेको र जनजातिको कोटामा उमेश श्रेष्ठले प्रतिस्पर्धा गरेको अनि आरजु राणा महिलाको कोटामा भिडेको देख्दा आरक्षणको सदुपयोग र दुरुपयोग के भयो कांग्रेसले अवश्य सार्वजनिक जवाफ दिनुपर्ने छ ।

झन् पहुचवाला भएर पहुँच विहीनको लागि छुट्याएको कोटामा र्याल चुहाउनेरुले पनि यसको चित्तबुझ्दो तर्क र कारण पेश गर्नुपर्ने छ या सार्वजनिक रूपमा संधै लज्जित हुनुपर्ने छ ? पहुँचवालाहरूले आरक्षित कोटा खोज्नु समानुपातिक समावेशीको नकारात्मक प्रयोगमात्र होइन, लक्षित समुदाय, वर्ग र सीमान्तकृत जातिमाथिको घोर अन्याय, घात र बज्रपात पनि हो । समानुपातिक समावेशी तरमाराहरूका लागि होइन,भूइँमान्छेहरूका लागि हो । कहिल्यै अवसरको मुख नदेखेकाहरुको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि व्यवस्था गरिएको आरक्षण र विगतमा भएको त्रुटिको शोध भर्ना तरमारा वर्गको लागि हुनु निकृष्ट सोचाई र व्यवहारको प्रतिफल हो ।

आरक्षणको व्यवस्था गर्दा हामी कहाँ चुकेका छौं त्यसको दोष निवारण गरि लक्षित वर्ग र समुदायसम्म पुर्याउन नयाँ नीति अवलम्बन गर्ने तर्फ पाइला चाल्नुपर्ने देखिन्छ ।तर समावेशी कोटामा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेर नेपालका खरबपति,नव धनाढ्य र महिला कोटामा प्रधानमन्त्री पत्नी लगायत अरु थुप्रैले यसको मर्म उदेश्य र शोधभर्नाको खिल्ली उडाएका छन्,उडाउने क्रम जारी छ । अन्यत्र पनि समावेशी र समानुपातिक कोटाको हुर्मत लिने काम भएको छ ।के यही हो समावेशी र समानुपातिक प्रणालीको मर्म ? यसको बारे गम्भीर मन्थन,विमर्श, लेखाजोखा गर्नु पर्ने विषय पनि कांग्रेस महाधिवेशनले दिने अर्को सन्देश हो ।

कांग्रेस युवा नेता गगन थापाले भने झैँ ‘कांग्रेस भित्रको आन्तरिक लोकतन्त्रमा कोही ठूलो सानो हुदैन । प्रधानमन्त्री समेत हात जोडेर भोट माग्दै लाइनमा बस्नुपर्छ यही खुला पन र स्वतन्त्राको कारण कांग्रेस अरु भन्दा भिन्न र प्रजातान्त्रिक दल हो । नेकपा एमालेको झैँ कुनै अमुक नेताको पकेटबाट झिकिने र सर्वसम्मतको नाममा आफूलाई मन परेका मान्छेको नाम पढेर जबर्जस्ती अनुमोदन भन्दै ताली पिट्न लाउने प्रवन्ध कांग्रेसमा छैन । तसर्थ कांग्रेस आन्तरिक लोकतन्त्रमा पारदर्शिता सहित खरो उत्रेको छ ।’ आफूले इच्छाएको पदमा प्रतिस्पर्धा गर्न पाउने र आफूले चाहेको व्यक्ति या समूहलाई भोट दिन पाउने अधिकार कांग्रेसले सुरक्षित गरेको छ ।

कुनै पनि पदमा निर्वाचित हुन आफ्नो गुट या स्वतन्त्र भएर लड्न कांग्रेसले कसैलाई निषेध गर्दैन । यो पटक कांग्रेसले पार्टी भित्रको लोकतन्त्रको सुन्दर अभ्यास गर्यो जसलाई सारा मान्छेले मुक्त कण्ठले प्रशंशा गरेको पाइयो । तलदेखि माथिसम्म नेताको खल्तीको लिस्ट अनुमोदन गरेर आएका नेकपा एमालेका नेता कार्यकर्ता भन्दा वडा देखि निर्वाचित हँदै आएका कांग्रेस नेता कार्यकर्ताको चहक महक बेग्लै हुनु गजबकै आत्मसम्मान र प्रतिष्ठाको विषय हो । लोकतान्त्रिक पद्दति जुन पार्टी र जुन संस्थाले बलियोसँग अवलम्बन गर्छ त्यहाँ त्यो संस्था र दल मात्र बलियो हुदैन अरु उसका प्रतिस्पर्धी दल र संस्थालाई पनि लोकतान्त्रिक बिधि निर्माण गर्न आन्तरिक लोकतन्त्रको अभ्यास गर्न प्रेरित गर्छ र बाध्य तुल्याउँछ । दल भित्रको आन्तरिक लोकतन्त्रको अभ्यासले बाह्य लोकतान्त्रिक पद्दति अन्तर पार्टी प्रतिस्पर्धामा पनि शुद्धता ल्याउने अपेक्षा गरिन्छ ।
नेकपा एमालेको महाधिवेशनमा पनि उक्त पार्टीले महाअधिवेशन अवधिमा महाअधिवेशन स्थलमा गरेको फोहोर सकेसम्म आफैले सफा गरेको, पर्चा पम्प्लेट फ्लेक्स बोर्ड इत्यादि आफैले हटाएको थियो भने कांग्रेस पार्टीले पनि उक्त पार्टीका निवर्तमान प्रवक्ता विश्व प्रकाश शर्मा र बागमती प्रदेशका सांसद दीपेन्द्र श्रेष्ठको नेतृत्वमा कांग्रेस कार्यकर्ता आफैले आफूले गरेको फोहोर सफा गरेर कर्तव्य बोधको उदाहरण दिएका छन् । यो देख्दा सामान्य लाग्छ । तर यसले दिने सन्देश र प्रवाह गर्ने विचार एउटा नवीन संस्कृतिको रुपमा विकास हुँदा सबैले आफ्नो दायित्वबोध गर्छन् । र जहाँ जसले जे कार्यक्रम गरेको भए पनि त्यसबाट उत्पन्न फोहोर व्यवस्थापन आफैले गर्ने परम्परा विकसित हुनपुग्छ ।

कांग्रेस महाधिवेशनमा खट्केको कुरा उसले आफूलाई प्रविधि मैत्री बनाउन सकेको भए मतदान र मतगणना सहज र समयानुकूल हुने थियो । कांग्रेस परम्परागत शक्तिको रूपमा चिनिएको उसै होइन रहेछ । समयको लय पक्रन नसक्नुको थुप्रै क्षति पनि छन् ।
डिजिटल युगमा ट्याङ्की मतदान कांग्रेसले प्रविधि आत्मसात गर्न नसकेको प्रमाण हो । हाइटेक भोटिङको युगमा पानी ट्यांकी टेकको अभ्यासचैं असाध्यै असुन्दर विषय बन्यो । केही समय अघि एमालेले प्रयोग गरेको विद्युतीय मतदान कांग्रेसले विश्वास नगर्नु यसको दुर्वल पक्ष हो । सम्भवत यही पुष अन्त्यतिर हुने नेकपा माओवादीको महाधिवेशनमा विद्युतीय मतदान नै प्राथमिकतामा पर्छ भने सरसफाई जस्ता रचनात्मक कामले निरन्तरता पाउने नै छ ।

लोकतान्त्रिक पद्धति अँगाल्ने पार्टीमा व्यक्तिको जित–हार भन्दा प्रणालीगत अभ्यास सुन्दर हुन्छ । जसले हारे जिते पनि कांग्रेसले आन्तरिक लोकतन्त्रको लागि निषेधको नीति बन्द गरेर खुला प्रतिस्पर्धालाई स्वागत र स्वीकार गर्यो । यो सकारात्मक पक्ष हो । नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपा नेपाललाई आफ्नो अधिवेशन सफल गरेकोमा हार्दिक बधाई सहित आसन्न महाधिवेशनको चटारोमा रहेको नेकपा माओवादीलाई अधिवेशन सफलताको शुभकामना ! प्रजातान्त्रिक पद्धतिमा सबैको विश्वास र आस्था हुनु लोकतान्त्रिक गणतन्त्रको भविष्य सुखद र उज्ज्वल हुने कुरासँग जोडिन्छ ।