काठमाडौं, माघ १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुनेछ ।
राष्ट्रियसभागृहमा सुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।
महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए ।
वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेस गरे ।
त्यसैगरी, बैठकमा महासचिव पौडेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गरे ।
बुधबारै सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको सांगठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची भएपनि समय अभावका कारण पेस हुन सकेन ।
बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुभारम्भ गरेका थिए ।
प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि केहीबेरलाई स्थगित भएर पुनः बैठकको बन्दसत्र सुरु भएको थियो ।
उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ ।
अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको सांगठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुनेछ ।
छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।
यसैगरी, बैठकमा केन्द्रीय निकायका अध्यक्षलाईसमेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ ।
कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।
बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य संकलन गरिनेछ ।
बैठक आजबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सन्चालन हुनेछ ।
पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहनेछ ।
नेकपा प्रचार विभागमा उपप्रमुख थापाकाअनुसार बैठक बिहीबार पुनः ११ बजे पुनः बस्नेछ । रासस









प्रतिक्रिया दिनुहोस्