Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


आफूहरुमाथि प्रचार आक्रमण भइरहेको छ: प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले आफूहरुविरुद्ध तीव्र रुपमा प्रचार आक्रमण भइरहेको बताएका छन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार र पार्टीविरुद्ध प्रचार युद्धभन्दा पनि आक्रमण नै छेडिएको आरोप लगाए ।

‘युद्ध त दाहोरो हुन्छ, यहाँ त एकोहोरो आक्रमण छेडिएको छ’, उनले भने । 

प्रचार गर्नेहरूलाई कामबाट जवाफ दिने भन्दै सरकार बनेपछिको दुई वर्षमा सरकारले के के काम गर्यो भन्ने फेहरिस्त बैठकमा सुनाए । 

प्रधानमन्त्री ओलीले सडकबाट मानिसलाई उद्धार गरिएको, कसैलाई भोको मर्न नदिएको लगायतका विषय जानकारी गराए । 

भावनामा बगेर क्रान्तिकारी बन्नेतर्फ भन्दा यथार्थवादी बन्न उनले जोड दिए । पार्टीलाई वैचारिक रूपमा प्रष्ट बनाउनुपर्ने र नेता कार्यकर्ता पनि प्रष्ट बन्नुपर्ने उनले बताए । 

पार्टी एकीकरणको २० महिनापछि आज(बुधबार) सुरु भएको दोस्रो केन्द्रीय समिति बैठकमा बोल्दै उनले लोकतन्त्रप्रति आफूहरुको निष्ठामा प्रश्न उठाइने गरेको भन्दै वैचारिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर सरकारका उपलब्धिबाट जवाफ दिनुपर्ने बताए ।

उनले आन्तरिक वादविवादमा नअल्झी सरकारले हासिल गरेका उपलब्धीलाई जनतामाझ पुर्‍याउन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

चार सय ४१ सदस्य रहेको केन्द्रीय कमिटी बैठकका लागि पार्टी कार्यालयमा पर्याप्त ठाउँ नभएपछि राष्ट्रियसभा गृहमा बैठक बसिरहेको छ ।

बैठकमा केन्द्रीय समिति र आमन्त्रित स्थायी समिति सदस्यहरु सहभागी भएका छन् ।

गत वर्ष जेठ ३ गते पार्टी एकीकरणको एक सातापछि जेठ १० गते प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो केन्द्रीय कमिटी बैठक बसेको थियो ।

आगामी आइतबारसम्म चल्ने बैठकमा केन्द्रीय सदस्यहरुले खुला रुपमा छलफल गर्न पाउने बताइएको छ ।

यसअघि मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गरेसँगै केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।