२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको छ : पौडेल


338
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेकपा एमालेबाट समावेशी संसदीय प्रणाली सिध्याउने षड्यन्त्र भइरहेको बताउनु भएको छ ।

नेता पौडेलले आज बिहान एक विज्ञप्ति जारी गर्दै देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेको बताउँदै यसबाट समावेशी संसदीय प्रणालीनै सिध्याउन खोजिएको बताउनु भएको हो ।

पौडेलले लेख्नुहुन्छ, ‘राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलाप तर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु । देशलाई प्रयोगै प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र हो यो । समावेशी संसदीय प्रणालीनै सिद्द्याउन खोजिएको देखिन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको सन्दर्भमा कांग्रेस नेता पौडेल लेख्नुहुन्छ‚ ‘६ महिनाको समयमा दुईरदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’

पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदबाटै सबै समस्याको निकास खोज्न आग्रह गर्नु भएको छ । उहाँ लेख्जुहुन्छ, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्यो भने ओलीको नियतिसामू समर्पण गरेको ठहर्नेछ ।’

उहाँले सरकारले पनि देशलाई लोकतान्त्रिक गति दिन नसकेको टिप्पणी समेत गर्नु भएको छ ।