दोस्रो इनिङ गर्ने देउवा को हुन् ? « Image Khabar


दोस्रो इनिङ गर्ने देउवा को हुन् ?


221
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा दोस्रो पटक सभापति निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी शेखर कोइरालालाई ८७८ मतले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिको कुर्सीमा पुग्नु भएको हो ।

मत गणनाको अन्तिम नतिजामा देउवाले २ हजार ७३३ मत प्राप्त गर्नुभयो भने कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभयो । दोस्रो चरणको मतदानमा ४ हजार ५७४ मत खसेकोमा ३३ मत बदर भएको थियो भने १६९ जना मतदानमा सहभागी भएनन् ।

यस अघि पहिलो चरणको चुनावमा देउवालाई बहुमत पुर्‍याउन ८३ मत अपुग भएपछि दोस्रो चरणको चुनाव भएको थियो । दोस्रो चरणमा कोइराला बाहेक अन्य चारै जना सभापतिका प्रत्यासीहरु एक ठाउँ भएका थिए । कांग्रेस नेतृत्वमा देउवाले दोस्रो कार्यकालको शुरुवात गर्नुभएको हो ।

पहिलो चरणमा पाँच जना उम्मेदवारमध्ये देउवाले २ हजार २५८ मत ल्याउनु भएको थियो । कोइराला १ हजार ७०३ मत ल्याएर दोस्रो हुनु भएको थियो भने अन्य उम्मेदवारमध्ये सिंहले ३७१, निधिले २५० र कल्याणकुमार गुरूङले २२ मत प्राप्त गर्नु भएको थियो ।

बि.सं २००३ जेठ महिनामा डडेलधुरा जिल्लाको असीग्राममा जन्मिनु भएका देउवा वि.सं. २०२१ सालदेखि नेपाल विद्यार्थी संघ (नेबिसंघ) बाट राजनीतिमा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी संघको संस्थापक अध्यक्ष बिपिन कोइराला भएपनि देउवा नेबिसंघको पहिलो निर्वाचित अध्यक्ष हुनुहुन्छ । २०२८ सालमा देउवा नेबिसंघको अध्यक्ष बन्नु भएको थियो । विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औं महाधिवेशनमा उहाँ तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित हुनु भएको थियो ।

विद्यार्थी राजनीतिमार्फत नेपाली राजनीतिमा उदाउनु भएका देउवा नेपालमा पाँच पटक प्रधानमन्त्री हुने सौभाग्य प्राप्त गर्ने व्यक्तिमा पर्नुहुन्छ ।

२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा कांग्रेसको राजनैतिक प्रमुखको भूमिकामा रहनुभएको थियो ।

२०४८ सालको आम निर्वाचनमा देउवा डडेल्धुराबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । त्यसपछि उहाँ गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बन्नुभएको थियो । २०४८ सालपछि देउवालाई राजनीतिमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन । देउवा २०४८ सालदेखि भएका निर्वाचनमा कहिल्यै पराजित हुनु परेको छैन ।

कांग्रेसका नेताहरु गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई र गिरिजा प्रसाद कोइरालाबीच मनमुटाव बढेपछि देउवा पहिलो पटक २०५२ भदौ २७ मा देशको कार्यकारी प्रधानमन्त्री बन्नु भएको थियो । २०५२ यता ५ पटक प्रधानमन्त्री बन्ने देउवा भाग्यमानी नेतामा पर्नुहुन्छ । २०५८ साउन ११ मा दोस्रो पटक, २०६१ जेठ २१ मा तेस्रो पटक र २०७४ जेठ २४ देउवा चौथो पटक प्रधानमन्त्री बन्नुभको थियो भने २०७८ असार २९ मा अदालतको आदेशबाट उहाँ पाँचौ पटक प्रधानमन्त्री बन्नुभयो । २०५८ असोजमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्री रहेकै बेला पदच्युत गर्नुभएको थियो । २०६१ जेठमा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गर्नुपरेको थियो ।

तर, २०६१ माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै ज्ञानेन्द्रले देउवालाई हटाउनुभएको थियो । त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो । उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गर्नुभएका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो । पछि सर्वोच्च अदालतले उक्त आयोगलाई खारेज गरिदिएपछि देउवा थुनामुक्त हुनुभएको थियो । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहाँले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताउनु भएको थियो ।

पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) का देउवा सभापति बन्नु भएको थियो । तर, २०६४ मा फेरि कांग्रेससँग एकीकरण भयो ।

देउवाको आलोचना र प्रशंशा
२०५२ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएका देउवालाई २०५९ मा संसद विघटन गरेर निर्वाचन गराउन नसकेको, सत्ताका लागि नेपाली कांग्रेसलाई २०५९ मा बिभाजन गरेको पनि आरोप लगाउने गरिएको छ । त्यसैगरी बिगतमा प्रधानमन्त्री बन्दा प्राडो र पजेरो संस्कृति भित्र्याएको, सांसदहरुलाई सुविधा बाँडेर संसदीय व्यवस्थालाई नै बद्नाम गराएको आरोप पनि देउवामाथि लाग्ने गरेको छ ।

प्रधानन्यायाधीस माथि महाअभियोग लगाउने जस्ता गलत संस्कार स्थापित गर्न खोजेको आरोप पनि देउवा माथि छ । नेपालको इतिहासमा पहिलो पटक सबैभन्दा धेरै मन्त्रीहरू सामेल गरेर मन्त्रिमण्डल गठन गर्ने व्यक्तिका रूपमा पनि देउवालाई लिइने गरेको छ । तर, बुझबुझका साथ राजनीतिक कदम अघि बढाउने पाका नेताका रुपमा पनि देउवालाई प्रशंशा गर्ने धेरै छन् । उहाँलाई पार्टीभित्र पनि जुझारु र आटिलो नेताका रुपमा लिने धेरै छन् । नेपाली राजनीतिमा देउवालाई पाका राजनीतिक खेलाडीका रुपमा लिने गरिन्छ ।