Logo २२ असार २०८३, सोमबार | Mon Jul 6 2026


वीरेन्द्रनगर दिनभर तनावग्रस्त, गोली लागेर सातजना घाइते, प्रशासनले लगायो कर्फ्यु


0
Shares

सुर्खेत, माघ १४ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मंगलबार साँझ ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म लागू हुनेगरी कर्फ्यु आदेश जारी गरेको छ ।

वीरेन्द्रनगरको गौतमचोकमा टिपरले ठक्कर दिएर मोटरसाइकलचालक कालिकोट, सिमखेतका २० वर्षीय केशर सिंहको मृत्यु भएको विषयमा तनाव बढेपछि कर्फ्यु लगाइएको हो ।

पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५०० मिटर क्षेत्रसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

तनाव

सिंहको मृत्युको विषयलाई लिएर मंगलबार दिनभर वीरेन्द्रनगर बजार तनावग्रस्त बन्यो ।

स्थानीय प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भयो भने प्रहरीले चलाएको गोली लागेर सातजना घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगा लागेर चारजना प्रहरीसमेत घाइते भएका छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले लाठीचार्ज र दर्जनौं सेल अश्रुग्यास प्रहारसमेत गरेको थियो ।

प्रदर्शनकारीले बजार क्षेत्रमा रहेको एउटा प्रहरी बिटसमेत तोडफोड गरेका छन् ।

प्रहरीले घटनास्थलबाट बल प्रयोग गरेर मृतक सिंहको शव उठाएको छ ।