काठमाडौं, मंसिर २७ । भक्तपुरस्थित विश्वसम्पदा सूचिमा सूचिकृत चाँगुनारायण मन्दिर परिसरको क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकहरुको भीड लाग्ने गरेको छ ।
चाँगुनारायण नगरपालिका स्थित धार्मिक एवं पर्यटकीय महत्वको मुलकोटगढी महाङ्काल त्रिशुल डाँडामा पनि पर्यटकहरुको भीड लाग्ने गरेको हो ।
लकडाउनपछि बिदाको दिनमा काठमाडौं उपत्यकाको दृश्यावलोकन र पिकनिक खान आउनेहरूको भीड बढ्दा चाँगुनारायण क्षेत्रमा पर्यटकहरु बढेका हुन् । खासगरी लकडाउनपछि सार्वजनिक बिदाको दिन भीड लाग्ने गरेको छ ।
त्यसमा पनि सफा मौसममा यस क्षेत्रबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, जुगल लगायतका हिमश्रङखला देख्न सकिन्छ । साथै उपत्यकाको दृश्यावलोकनका लागि समेत प्रसिद्ध भएका कारण पनि पछिल्लो समय पिक्निक खान र घुम्न आउनेको भीड बढेको स्थानीयहरु बताउँछन् ।
तर, सरकारले सडक खण्ड स्तरोन्नतिको काममा उचित ध्यान दिन सकेको छैन । सडक मार्गको सुधारका साथै पैदल यात्रा रूटको स्तरोन्नति गर्न सके यस क्षेत्र पनि उत्कृष्ट पर्यटकीय गन्तव्य हुने पर्यटकहरु बताउँछन् ।
उनीहरुले सडक मार्ग कष्टकर र जोखिमपूर्ण रहेपनि त्रिशुल डाँडाबाट देखिने अलौकिक दृश्यले मन मोहक बनाएको प्रतिक्रया पनि दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्