
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिनुभएको छ ।
आजदेखि भृकुटीमण्डपमा सुरु भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल, ओली र नेपाल सँगै देखिनुभएको हो । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाएको हो ।
नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको हाे । २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेसँगै ओली र दाहाल एउटै मञ्चमा देखिन छाडेका थिए । त्यस्तै, ओली र नेपालबीच करिब ५ महिनायता भेटघाट भएको छैन ।
चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी भएपनि प्रचण्ड भने जानुभएको थिएन । एमाले महाधिवेशनमा नेपाललाई भने बोलाइएको थिएन । माओवादीले स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई एमालेको महाधिवेशन उद्घाटन समारोहमा पठाएको थियो ।
तीनै नेताले फरक–फरक मञ्चबाट आपसी घोचपेच मात्रै गर्दै आएका छैनन्, चुनावमा पत्तासाफ बनाउने दाबीसमेत गर्दै आउनुभएको छ । त्यसैले एउटै पार्टीमा रहेका ओली, दाहाल र नेपाल लामो समयपछि एकै ठाउँमा देखिनुलाई चासोका साथ हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्