
काठमाडौं । कांग्रेस सभापतिमा दोहोरिने प्रयासमा रहेका शेरबहादुर देउवालाई आफ्नो समूहभित्र पदाधिकारीको टुंगो लगाउन सकस भएको छ । समूहभित्र उपसभापति र महामन्त्रीका आकांक्षी धेरै भएको र चुनाव जित्नका लागि यी पदमा अर्को कुनै समूहका नेतालाई तान्नुपर्ने बाध्यताले उनी अप्ठ्यारोमा परेका हुन् ।
बालुवाटारमा मंगलबार ७ वटै प्रदेशका आफूपक्षीय वरिष्ठ नेतासँग बैठक गरेर देशभरिको अवस्था बुझेका देउवाले बुधबार निजी निवास बूढानीलकण्ठमा केन्द्रीय कार्यसमितिमा रहेका आफूपक्षीय नेतालाई परामर्शका लागि बोलाएका थिए । उनको समूहमा वर्तमान उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का उपसभापतिका आकांक्षी छन् । अर्को कुनै समूहसँग समीकरण गर्नुपर्ने अवस्थामा देउवासामु खड्का वा गच्छदारमध्ये एक जनालाई रोज्नुपर्ने बाध्यता छ ।
उनलाई दुई जना महामन्त्रीको टुंगो लगाउन अझ बढी सकस छ । प्रकाशशरण महत, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखकले महामन्त्रीमा दाबी गरिरहेका छन् । समूहको बुधबारको बैठकमा पनि आकांक्षीहरूले आफ्नो दाबी पेस गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्