पोर्चुगलदेखि काठमाडौं साइकलमा सरर, ११ दिनमा पुगे सगरमाथा आधार शिविर « Image Khabar


पोर्चुगलदेखि काठमाडौं साइकलमा सरर, ११ दिनमा पुगे सगरमाथा आधार शिविर


221
Shares

नरेन्द्र मानन्धर
काठमाडौं । नेपालमा साहसिक पर्यटन अन्तर्गत साइकल यात्राले पनि गति लिन थालेको छ । यसको प्रवर्द्धनका लागि सरकारी स्तरबाट खासै चासो नदेखाए पनि व्यक्तिगत रूपमै मानिसहरूले नयाँ–नयाँ ठाउँलाई आफ्नो गन्तव्य बनाइरहेका छन् ।

नेपालमा साइकल चढ्नु कसैको बाध्यता र रहर, कसैको आवश्यकता र आडम्बर पनि बनेको छ । पछिल्लो समय यो साहसिक पर्यटनको रूपमा विकास भइरहेको छ । यसैमध्ये एक हुन पोर्चुगलका साइकल यात्री पेड्रो बेन्टो । जसले साहसिक साइकल यात्रालाई आफनो जिउने आधार बनाएका छन् ।

४३ वर्षीय बेन्टो सन् २०१६ मा पहिलो पटक नेपाल आएका थिए । यस वर्ष पनि नेपाल आएका उनको गन्तव्य सगरमाथा आधार शिविर हुन पुग्यो । मंसिर ६ गते काठमाडौंबाट सुरु भएको उनको साइकल यात्रा १६ गते सगरमाथा आधार शिविर पुगेर टुंगियो ।

सहासिक यात्रालाई आफ्नो जीवनयात्रा बनाएका बेन्टोको विगतले उनलाई यसमा लाग्न प्रोत्साहित गरेको उनी बताउँछन् । पोर्चुगलमा सन् २०१७ मा बाइकरेसिङ्गमा ठूलो दुर्घटनामा परेका उनलाई चिकित्सकले नयाँ जीवन दिए ।

चिकित्सकले साइकल र मोटरसाइकल नचलाउन सल्लाह दिए पनि उनको मनले के मान्थ्यो । चिकित्सकको सल्लाहलाई बेवास्ता गर्दै साहसिक साइकल यात्रालाई उनले निरन्तरता दिइरहेका छन् । ढाडको जटिल शल्यक्रिया गरिसकेका बेन्टो चिकित्सा विज्ञानलाई चुनौती दिँदै सन् २०१९ मा पोर्चुगलदेखि १० हजार किलोमिटर पार गरि साइकल यात्रा गरेर काठमाडौं आएका थिए ।

आफूले दोस्रो जीवन पाएको बताउने बेन्टो साहासिक यात्रामा मात्र सीमित छैनन् । यसैबाट रकम संकलन गरेर सामाजिक सेवा पनि उनले गर्दै आएका छन् । संकलित रकम नेपालका गरिब बालबालिकाको स्वास्थ्य, शिक्षा, खाद्यान्नमा खर्च भइरहेको छ । साहसिक कार्य र मानवीय सेवा गर्दा जीवन जीउनुको सार्थकता पूरा भएको उनको निष्कर्ष छ ।

साहसिक पर्यटनमा साइकल यात्राले गति लिन थालेको छ । तर, सरकारी निकायले यसको प्रवर्द्धन खासै चासो राखेको देखिँदैन । जीवनमा यसरी साहसिक यात्रा गर्नुमा छुट्टै मज्जा छ । भलै कसैले यसलाई पागलपन भनुन् ।