महोत्तरी, माघ ११ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीचको सहकार्य राम्रो सुरुआत भएको बताएका छन् ।
बर्दिवासमा नेकपा महोत्तरीद्वारा आयोजित प्रदेश नम्बर–२ बाट राष्ट्रियसभामा निर्वाचित प्रतिनिधिलाई शनिबार बधाइ ज्ञापन गर्दै उनले ‘राजपासँगको सहकार्यले निर्वाचनमा राम्रो परिणाम आएको छ’–भने ।
‘राष्ट्रियसभा निर्वाचनमा दुवै दलको आवश्यकताले हामीबीच सहकार्य भयो’–उपप्रधानमन्त्री पोखरेलले भने–‘अब मुलुकको समृद्धि अभियान अघि बढाउन यो सहकार्य अझ विश्वासिलो र सुदृढ बन्नुपर्दछ ।’
कार्यक्रममा नेकपाका प्रदेश नम्बर–२ का इन्चार्ज एवं प्रदेशसभा २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डल, पार्टीका प्रदेश–२ का सहइन्चार्ज विश्वनाथ साहसहितका नेताहरुले नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई बधाइ ज्ञापन गरेका थिए ।
नेकपाबाट राष्ट्रियसभामा निर्वाचित तुलसा दाहाल र राधेश्याम पासवानले जनअधिकार र जनचासोमा केन्द्रित रहने प्रतिबद्धता जनाए ।
नेकपाका केन्द्रीय सदस्य तथा महोत्तरीका इन्चार्ज राजु खड्काको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । रासस










प्रतिक्रिया दिनुहोस्