Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


मुलुकलाई विपद् जोखिमबाट सुरक्षित बनाउन राष्ट्रपति भण्डारीकाे आह्वान


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सालमा गएको विनाशकारी भूकम्पपछि पुनर्निर्माण तथा पुनर्स्थापना कार्यमा प्राप्त गरेका सफलता, सिकाइ र अनुभवहरूको जगमा उभिएर सबै प्रकारका विपद् जोखिमबाट सुरक्षित मुलुक निर्माणतर्फ लाग्न आह्वान गर्नुभएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु भएको ‘नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०७८’ को उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले विनाशकारी भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनाका क्रममा नेपालले प्राप्त गरेको अनुभव तथा सिकाइहरू अन्तराष्ट्रिय समुदायका लागि समेत अनुकरणीय हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

भण्डारीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यसँग सम्बन्धित सबै पक्षलाई संलग्न गराइ तयार पारेको दस्तावेजहरू विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन क्षेत्रमा लागिपर्ने जो कसैका लागि महत्वपूर्ण ज्ञानको भण्डारका रूपमा रहने स्पष्ट पार्नुभयो ।

राष्ट्रपति भण्डारीले भावी पुस्ताले समेत सो भूकम्पपछिको पुनर्निर्माण कार्य अनुकरण गर्न लायक रहेको बताउनुभयो । भूकम्पपछि पुनर्निर्माण भएका भौतिक संरचनाहरू अझ बलियो बनेको उल्लेख गर्दै उहाँले त्यस कार्यमा सहयोग गर्ने अन्तराष्ट्रिय समुदायप्रति आभारसमेत व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले पुनर्निर्माणलाई तीव्रताका साथ अघि बढाउन तीनै तहको सरकारको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गर्नुभयो । उहाँले विनाशकारी भूकम्पले नेपाली जनतालाई आहात पारेका बेला अन्तराष्ट्रिय समुदायले दिएको बलियो साथको पटक–पटक स्मरण गर्दै धन्यवाद दिनुभयो ।