
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामालाई ‘बटम लाइन’ बनाएको नेपाल बार एसोसिएसन आन्दोलनको सुरक्षित अवतरणको खोजीमा नेता गुहार्न जुटेको छ।
प्रधानन्यायाधीश जबराले राजीनामा पनि नदिने,राजनीतिक दलहरूले महाभियोग पनि नलगाउने देखिएपछि बारलाई आन्दोलन टिकाइराख्न कठिन भएको छ। आन्दोलनबाट समाधान पनि ननिस्कने र बीचमै छोड्न नमिल्ने देखिएपछि बारका पदाधिकारी राजनीतिक दलको सहयोग खोज्दै नेताका घरदैलोमा पुग्न थालेका छन्।
गत साता नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायतका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रधानन्यायाधीशलाई राजीनामा दिन लगाउन,नभए महाभियोग लगाउन आग्रह गरेका थिए। मंगलबार प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमा भेटी उनीहरूले सहयोग मागेका छन्।
त्यस क्रममा ओलीले जबराबाटै परमादेश पाएर बनेको सरकारले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन नसक्ने बताए। महाभियोगको प्रस्ताव प्रतिनिधिसभाका दुईतिहाइ सदस्यले पारित गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसका लागि गठबन्धनमा रहेका दल तयार नहुने ओलीले बताएका थिए।
प्रतिक्रिया दिनुहोस्