कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी « Image Khabar


कांग्रेस १४औं महाधिवेशनः सभापतिमा आठ आकांक्षी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । कांग्रेसको १३ पदाधिकारी र १ सय २१ सदस्यसहित केन्द्रीय कार्यसमितिमा १ सय ३४ जना चुन्नका लागि केन्द्रीय महाधिवेशन हुन लागेको हो ।

कांग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति शेरबहादुर देउवा, हालका उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेता डा। शेखर कोइराला र अर्का नेता गोपालमान श्रेष्ठ अघि सरेका छन् ।

यस्तै, नेता कल्याण गुरुङको पनि सभापति पदमा नै दाबी रहँदै आएको छ । यीमध्ये महामन्त्री कोइरालाले भने आफ्नो समर्थन वरिष्ठ नेता पौडेललाई दिएका छन् ।

सभापतिको दौडमा संस्थापन समूहबाट देउवा, निधि र श्रेष्ठ छन् भने इतर समूहबाट अब पौडेल, पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्यसमेत रहेका नेता कोइराला छन् । तेस्रो धारबाट सिटौला अघि बढेका छन् ।

संस्थापन समूहबाट आफू अघि बढ्ने सन्देश प्रधानमन्त्रीसमेत रहेका देउवाले सोमबार मात्रै सरकारी निवास बालुवाटारमा आफूनिकटका पत्रकारसँगको भेटमा दिइसकेका छन् भने सोही समूहबाट निधि र श्रेष्ठको पनि दाबी रहँदै आएको छ ।

इतर समूहले भने सभापतिका लागि अझै पनि साझा उम्मेदवार तय गर्ने विषयमा छलफल जारी राखेको छ । तर, सो विषय सहजै टुंगिने भने सम्भावना कम छ । मंगलबार मात्रै पनि पूर्वमहामन्त्री सिंहको ठमेलस्थित निवासमा सो समूहको ५ घन्टा बढी बैठक चलेको थियो ।

राजधानी