काठमाडौं, माघ ९ । १० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई अहिले फरक पार्टीमा छन् ।
दाहाल अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष हुन् । भट्टराई समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष ।
दाहाल नेतृत्वको तत्कालीन माओवादी केन्द्र तत्कालीन नेकपा एमालेसित पार्टी एकीकरण भएर नेकपा बनेको हो ।
भट्टराईले भने माओवादी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ शक्ति पार्टी नेपाल गठन गरेका थिए ।
सोही पार्टी र उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम एकीकृत भएर समाजवादी पार्टी बनेको हो ।
विगतमा एउटै पार्टीका यी सहयात्री अहिले फरक पार्टीको नेतृत्व तहमा छन् ।
दाहालले भट्टराईलगायतलाई पुनः एउटै पार्टीमा रहेर राजनीति गर्न आग्रह गर्दै आएका छन् । भट्टराईले भने विगतका राजनीतिक मुद्दाहरुलाई दाहालले विसर्जन गर्दै गइरहेको आरोप लगाउने गरेका छन् ।
दाहालले बुधबार खुमलटारमा समाजवादी पार्टी परित्याग गरी आएका केही नेता–कार्यकर्तालाई नेकपामा प्रवेश गराए ।
समाजवादी पार्टीका केन्द्रीय सहायक प्रवक्ता रामप्रसाद रिजाललगायतलाई दाहालले पार्टीमा स्वागत गरेका थिए ।
सोही कार्यक्रममा सम्बोधनका क्रममा दाहालले भट्टराईलगायतलाई नेकपामै ‘मिल्न आउन’ आह्वान गरेका थिए ।
‘रामप्रसादजीले भन्याजस्तै त्यहाँ रहेका साथीहरु अशोक राई या बाबुराम भट्टराई । उहाँहरु पनि त्यहाँ निरीह भएर बस्नुपरेको अवस्था छ, अप्ठ्यारो स्थितिमा हुनुहुन्छ भनेर उहाँ (रामप्रसाद)ले भन्नुभयो । उहाँले भनेको सत्य नै होला ! मलाई सबै ठ्याक्कै थाहा त छैन’–दाहालले भनेका थिए–‘ती साथीहरु र उपेन्द्रजी पनि अरु धेरै झमेला गर्नुभन्दा यहीँ मिल्न आए बरु राम्रो हुन्छ ।’
त्यसको प्रतिक्रियास्वरुप भट्टराईले बिहीबार जवाफ फर्काए । उनले ट्वीटरमार्फत् दाहाललाई जवाफ दिएका हुन् ।
भट्टराईले दाहाललाई ‘पिँजडामा फसेर छट्पटाइरहेको’ भनी कटाक्ष गरेका छन् ।
‘पञ्चतन्त्रको ‘कंकड लुब्ध पान्थ कथा’मा सिकार गर्न नसक्ने बूढो बाघले हातमा सुनको बाला लिएर बटुवाको सिकार गरेझैं आफैं खड्गप्रसादको पिँजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिँजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाङ, कसलाई दिने वर ?’–भट्टराईले ट्वीटमा लेखेका छन् ।
पंचतन्त्रको ‘कंकड़ लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरेझैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन्!आफैं त महादेव उत्तानो टाँग;कस्लाई दिने वर……?
— Baburam Bhattarai (@brb1954) January 23, 2020
दाहाल र भट्टराईबीच बेला–बेलामा ‘घोचाघोच’ हुने गरेको छ । यसअघि, धेरैपटक दाहालले भट्टराईलक्षित कटाक्ष गरेका छन् । भट्टराईले पनि दाहालप्रति तीखो व्यंग्य गर्दै आएका छन् ।









प्रतिक्रिया दिनुहोस्