कांग्रेसको प्रदेश नेतृत्वका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुने « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


कांग्रेसको प्रदेश नेतृत्वका लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत आज सातै प्रदेशमा सभापतिलगायत उम्मेदवारहरूको मनोनयन दर्ता हुँदैछ । हिजो सभापति शेरबहादुर देउवाले भर्चुअल रूपमा प्रदेशको अधिवेशन उद्घाटन गर्नुभएको थियो ।

तर प्रदेश नम्बर १ मा भने हिजो उद्घाटन सत्र हुन सकेन । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका अनुसार आज बिहान उद्घाटन सत्र र उम्मेदवारहरूको मनोनयन दर्ता एकसाथ हुनेछ । सातै प्रदेशमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट प्यानलसहित नै उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रदैछन् ।

प्रदेश १ मा संस्थापन पक्षबाट उद्धव थापा तथा पौडेल समूहबाट गुरूराज घिमिरे प्रदेश सभापति पदमा उठ्दै हुनुहुन्छ । प्रदेश नम्बर २ मा रामसरोज यादव, महेन्द्रकुमार राय, दिनेशकुमार यादव र कृष्णा यादवले सभापतिका लागि दाबी गरेका छन् । बागमती प्रदेशमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।

सभापति देउवा पक्षबाट संसदीय दलका नेतासमेत रहेका मकवानपुरका सभापति ईन्द्र बानियाँ, पौडेल पक्षबाट नुवाकोट कांग्रेसका निवर्तमान सभापति जगदीश्वरनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधान सभापति पदका उम्मेदवार छन् । गण्डकी प्रदेशमा सभापति देउवा पक्षले अर्जुन जोशीलाई सभापति पदमा उठाएको छ भने पौडेल पक्षले शुक्रराज शर्मालाई सभापतिमा अगाडि सारेको छ ।

लुम्बिनीमा देउवा पक्षबाट सांसद भरत शाह र पौडेल पक्षबाट रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन मगर प्रतिस्पर्धामा उत्रने भएका छन् । कर्णाली प्रदेशमा देउवा पक्षबाट ललितजंग शाही र पौडेल पक्षबाट भूपेन्द्रजंग शाही प्रदेश सभापति पदका उम्मेदवार छन् ।

सुदूरपश्चिम प्रदेशमा देउवा पक्षबाट नरनारायण शाह, गोविन्द बोहरा, अर्जुन सिंहलगायतको नाम चर्चामा छ । पौडेल पक्षबाट भरत खड्का र कमल शाह प्रदेश सभापतिका आकांक्षी छन् । आज उम्मेदवारहरूको मनोनयन दर्ता सकेर भोलि चुनाव गर्ने तयारी कांग्रेसको छ ।