Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा तयारी तीव्र


0
Shares

इमेज जिल्ला ब्यूरो

काठमाडौं, माघ ६ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातओटै प्रदेशमा तयारी तीव्र पारिएको छ ।

निर्वाचनका लागि प्राविधिकसहित सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ ।

सोही पदका लागि यही माघ ९ गते हुन लागेको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिरहेको छ ।

अन्य निर्वाचनजस्तो आमजनताले मताधिकार प्रयोग गर्न नपाउने भएपनि राजनीतिकरुपमा भने यसले ठूलो महत्व राखेको छ ।

निर्वाचनमा सातओटै प्रदेशका सदस्यतर्फका ५५० र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख एक हजार ५०६ गरी कुल दुई हजार ५६ मतदाताको सहभागिता रहनेछ ।

जसमा प्रदेशसभा सदस्यको मतभार स्थानीय तहका जनप्रतिनिधिको मतभारका तुलनामा बढी हुनेछ ।

निर्वाचन कार्यक्रमअन्तर्गत् सातै प्रदेशका निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता, जाँचबुझ तथा अन्तिम नामावली प्रकाशनलगायतका कामहरु सम्पन्न गरिसकेका छन् ।

निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको गण्डकी प्रदेशका निर्वाचन कार्यालय प्रमुख महेन्द्रराज सुवेदीको भनाइ छ ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतका कर्मचारी नियुक्तिको काम पनि पूरा भइसकेको छ ।   निर्वाचन आचारसंहिता लागू गरी त्यसको अनुगमन भइरहेको छ ।

उता, प्रदेश नम्बर–२ का निर्वाचन अधिकृत राजकुमार खतिवडा निर्वाचनको सम्पूर्ण पक्षको तयारीमा जुटिरहेको बताउँछन् ।

सोमबार राति १२ बजेदेखि निर्वाचनको मौनअवधि सुरु हुने आयोगले जनाएको छ ।

मतदान प्रक्रिया यही माघ ९ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म चल्ने निर्वाचन आयोगको कार्यतालिका छ ।

यता, प्रदेश नम्बर–२ मा सत्तारुढ नेकपा र राष्ट्रिय जनता पार्टी नेपालले चुनावी तालमेल गरेका छन् भने अन्य प्रदेशमा नेकपाको एक्लै दुईतिहाइ बहुमत रहेको छ ।

जनप्रतिनिधिले मात्र मतदान गर्ने भएकाले अन्य निर्वाचनको तुलनामा चहलपहल कम भएको र मतदातालाई प्रभावमा पार्ने तँछाड–मछाड नदेखिएको हो ।

भिडियो हेर्नुहोस्