आधा रातदेखि पासपोर्टका लागि भीड, अधिकतम सेवा दिएको सरकारी दावी « Image Khabar


आधा रातदेखि पासपोर्टका लागि भीड, अधिकतम सेवा दिएको सरकारी दावी

९० जना कर्मचारीले दैनिक ३५ सय पासपोर्ट वितरण

0
Shares

नारायणी लामिछाने
काठमाडौं, मंसिर १२ । सार्वजनिक प्रशासन सेवाग्राहीका समस्या निराकरण गर्न र सहजीकरण गर्न बनेका हुन् । तर हाम्रो देशमा केही सार्वजनिक निकाय यस्ता छन् जहाँ जाँदा नागरिकले घन्टौं लाईन बस्नुपर्छ र सेवा पाउन अनेक हण्डर र सास्ती व्यहोर्नुपर्छ । वर्षौंदेखि कमजोर व्यवस्थापनका कारण नागरिकले राहदानी र सवाई लाइसेन्स लिन महाभारत जित्नु जतिक्कै हुने गर्छ । राहदानी विभागले टोकन प्रणाली व्यवस्थापन गर्न नसक्दा सडकमा गाईजात्रा देखिने गरेको छ । राहदानी विभागले सेवा सहजीकरण गर्दै ई पासपोर्टको व्यवस्था गरेपनि सेवाग्राही व्यवस्थापनमा भने विभाग बारम्बार चुक्दै आएको छ ।

राहदानी विभागले गत मंसिर १ गतेबाट सेवालाई सुरक्षित भरपर्दाे, विश्वासिलो र प्रविधीमैत्री बनाउँदै विभागकै कार्यालय त्रिपुरेश्वर स्थित कार्यालयबाट राहदानी दिने व्यवस्था सुरु ग¥यो । तर सेवाग्राहीले सो कार्यालयबाट सेवा नपाएको गुनासो गरेका छन् ।

भरपर्दाे र सुुरक्षित दाबी गरिएको ई पासपोर्ट लिनेको संख्या २ सय नाघिसकेको विभाग बताउँछ । तर विभागमा लागेको लाईन अझै हटेको छैन । बिहानैदेखि लाईन बस्ने सेवाग्राहीको भीड थामिनसक्नु छ ।

कर्मचारीको अभाव खेपिरहेको राहदानी विभागमा अहिले ९० जना कर्मचारीले दैनिक ३५ सय बढी पासपोर्ट वितरण गरिरहेका छन् । राहदानी विभागमा एकातिर कर्मचारीको संख्या न्युन त अर्कातिर उचित व्यवस्थापन हुन नसक्नु प्रमुख समस्या हो । त्यो भन्दा पनि सेवाग्राहीलाई सेवामा सहजीकरण नगर्नु र व्यवस्थापन नगर्दा सेवाग्राहीको चाप झन झन थामिनसक्नु बन्दैछ । आफ्नै आँगनमै यस्तो भद्रगोल देख्दादेख्दै सेवा प्रवाह हुन नसकेको आरोप स्वीकार्न राहदानी विभाग प्रवक्ता शरद राज आरण तयार हुनुभएन ।

ई पासपोर्ट जारी पछि सेवाग्राहीको भिड कम हुने राहदानी विभागको अपेक्षा थियो तर सो अनुसार हुन सकेन ।

विभिन्न जिल्लाबाटै १ महिना भित्रै पासपोर्ट लिने व्यवस्था राहदानी विभागले गरेको थियो । तर अत्यावश्यक परेमा काठमाडौं स्थित विभागबाटै पैसाअनुसार सेवा दिने व्यवस्था गरेको थियो । ई पासपोर्ट लागु गरेपछि भने पासपोर्ट लिन चाहने व्यक्तिले अनलाईनमार्फत फारम भरेर डेट र टाईम लिन सक्ने व्यवस्था गरेको थियो । आगामी पुस मसान्तभित्र विभागले सबै जिल्लामा १५ दिनभित्रै ई पासपोर्ट लिने व्यवस्था सुरु गर्न लागेको छ । तर तत्कालै सेवा चाहिने सेवाग्राही र व्यवस्थापन गर्न नसक्ने विभागको दोहोरी भने चलिरहेकै छ ।