Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


राष्ट्रियसभा ‘निर्वाचनकै दिन मतपरिणाम घोषणा’, १८ पदका लागि ४५ जनाको उम्मेदवारी


0
Shares

काठमाडौं, माघ ६ । यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले निर्वाचनकै दिन मतपरिणाम घोषणा गर्नेगरी गृहकार्य थालिसकेको छ ।

सोमबार राति १२ बजेबाट मौन अवधि सुरु भएसँगै राष्ट्रियसभा निर्वाचनमा भाग लिएका दल तथा उम्मेदवारहरुले प्रचार–प्रसार, भेला, र्‍याली तथा सन्चारमाध्यमहरुको प्रयोग गरेर निर्वाचनकेन्द्रित गतिविधि गर्न पाउने छैनन् ।

निर्वाचन आयोगले दल दर्तादेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेसम्मका कार्य पूरा गरिसकेको छ ।

निर्वाचनमा भाग लिन ११ ओटा दल दर्ता भएकामा ६ ओटा दलले मात्र निर्वाचन चिह्न पाएका छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस मुख्य दलको रुपमा देखिएका छन् । १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ ।

सातओटै प्रदेशमा निर्वाचन हुँदैछ ।

आयोगले निर्वाचन भएकै दिन अर्थात् माघ ९ गते नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको आयोगका प्रवक्ता तथा सहसचिव राजकुमार श्रेष्ठले बताए ।

राष्ट्रियसभा ५९ सदस्यीय छ । जसमध्ये ५६ जनाले निर्वाचन प्रक्रियामा भाग लिनुपर्दछ भने तीनजना सदस्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गर्ने संवैधानिक प्रावधान छ ।

यसअघि भएको निर्वाचनबाट दुईवर्षे कार्यकालका लागि छानिएका १८ र मनोनीत गरी १९ सदस्य पद खाली हुँदैछ ।

नेकपाले राष्ट्रियसभामा वामदेव गौतमलाईसमेत ल्याउने प्रयास गरेको थियो । तर, राष्ट्रियसभा सदस्य प्रधानमन्त्री हुनेगरी संविधान संशोधन असम्भव देखिएपछि गत आमनिर्वाचनमा पराजित गौतम यो निर्वाचनमा उम्मेदवार बनेनन् ।

गत आमनिर्वाचनमा गोरखा क्षेत्र नम्बर–१ बाट पराजित नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने उम्मेदवार बनेका छन् । यो निर्वाचनसँगै अर्थमन्त्री युवराज खतिवडा भने ‘माननीय’ रहने छैनन् ।

राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिहरुको सभा मानिन्छ । जसले राजनीतिकरुपमा प्रतिनिधिसभाबाट हुने गल्तीहरुलाई सच्याउने मान्यता राखिन्छ ।

तर, नेपालमा भने नेताका खल्तीका मानिस र निर्वाचनमा पराजितहरुलाई ल्याएर राष्ट्रियसभाको गरिमा नै धुमिल पार्ने प्रयत्न हुँदै आएको देखिन्छ । जुन गलत अभ्यास हो ।

भिडियो हेर्नुहोस्