Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउनुहुँदैन : अध्यक्ष केसी


0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशभित्रका पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने बताउनुभएको छ ।

नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।

‘विश्वबाट नै कम्युनिष्ट आन्दोलन समाप्त हुँदै गएका बेलामा नेपालमा कम्युनिष्ट आन्दोलनभित्र सबैभन्दा बढी तीतोपिरो छ,’ उहाँले भन्नुभयो, ‘आफ्नो अन्तरविरोध बाह्य शक्तिलार्ई सुनाएर आफ्नो औकात देखाउनुहुँदैन, नेपाली जनताको हाँसिल गरेको उपलब्धि सबै पार्टीको उपलब्धि हो, उपलब्धि गुमाउने कि अगाडि बढाएर लिएर जाने हाम्रै हातमा छ ।’

अध्यक्ष केसीले राम्रा कामको उपलब्धिको जिम्मेवारी लिने राजनीतिक दलहरूले देशमा देखिएको विभिन्न विकृति र देशका अंगहरुमा देखिएको समस्याको जिम्मेवारी पनि लिनुपर्नेमा जोड दिनुभयो । एकले अर्को पार्टीलाई दोष लगाएर देखिएको विकृति पन्छाउन नसकिने उल्लेख गर्दै उहाँले गल्ती कमीकमजोरीलाई पनि स्वीकार्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

जनताले अन्तरविरोध र एकता चल्दै आएको भन्दै अध्यक्ष केसीले अन्तरविरोध भए पनि देश र राष्ट्रको साथका लागि एक ढिक्का हुनुको विकल्प नभएको बताउनुभयो । देशका स्वतन्त्रता र राष्ट्रिय अखण्डतामा आँच आउनेगरी कसैले पनि काम गर्न नहुने उहाँको भनाइ छ ।