पिएचडीवाला भीम होइन साक्षर ओली नै अध्यक्ष बन्नुपर्ने किन ? किनकि… « Image Khabar


पिएचडीवाला भीम होइन साक्षर ओली नै अध्यक्ष बन्नुपर्ने किन ? किनकि…



संजिव कार्की
खड्गप्रसाद ओली आजको नेकपाको ब्राण्ड हुन् l नेकपा आज जुन र जस्तो रूपमा छ त्यसको सम्पूर्ण देन ओलीको हो l ओली नभएको भए नेकपा यो रूपमा पुग्दैनथ्यो l यो रूपको अर्थ हो ओलीले भनेझैँ गतिशील जीवन्त एमाले या अरूले भने झैँ गतिमति हराएको एमाले l

जसले जस्तो व्याख्या गरे पनि आजको एमालेको निर्मितिमा ओलीको अहम् भूमिका छ l अत: ओली एमालेका ब्रम्हा, विष्णु, महेश्वर अल इन् वान हुन् l एमाले भित्रको टावर पर्शनालिटि ओली हुन् l एमालेमा अहिले नीति, सिद्दान्त, कार्यकर्म र समग्र पार्टी भनेकै एमाले हो l

ओली नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल, कमरेड मदन र कमरेड मनमोहन भन्दा ठूला नेता हुन् l मदन पुष्पलाल र मनमोहन इतिहासको काल खण्डका सामान्य नेता मात्रै हुन् l

नेकपा एमाले केवल ओलीमय छ l ओलीको तस्वीरभन्दा अरूको तस्वीर नेकपा एमालेको लागि औचित्यहीन लाग्छ l मार्क्स, लेनिन र एन्ग्लेस भन्दा पनि ओली पपुलर र कम्युनिस्ट दर्शनका प्रणेता हुन् l नेकपा यसरी नै प्रस्तुत भएको छ l मदन भण्डारीको बहुदलीय जनवाद ओलीको सिर्जनात्मक अभ्यास हो जसलाई प्राविधिक रूपमा मदन भण्डारीले पेश गरेका हुन् l

बहुदलीय जनवादको व्याख्या विश्लेषण ओलीले नेपथ्यमा बसेर गरेका हुन् l जनताको बहुदलीय जनवादलाई कार्यपत्रको रूपमा प्रस्तुत गर्न मात्र मदनले पाएका हुन् l यस्तै-यस्तै कुराको प्रतीत हुन्छ आजको एमाले यसले गरेको प्रचारप्रसार र ओलीको देवत्वकरण देख्दा l

म आज ओलीको खराबी र ओली बेठिक हुन् भन्ने पक्षमा छैन l उनले गरेका राम्रा र नराम्रा कामको विवेचना पनि मेरो उदेश्य होइन बरु ओली ठिक भीम रावल बेठिक भन्ने तर्क र मनशाय चाहिँ मेरो रहेको छ l ओली आफ्नो जे नीति छ त्यसमा प्रष्ट छन् l

नेकपा एमालेलाई आरोह अवरोह जता लगे जस्तो हालतमा पुर्‍याए पनि ओली स्पष्ट छन्, मबाट गल्ती भएको छैन र ओलीका कार्यकर्ता चित्त बुझाएर बसेका छन् ओलीले गल्ती गरेका होइनन् गल्ती माधव नेपालले गरेका हुन्, प्रचण्डले गरेका हुन्, अदालतले गरेको हो l दुई तिहाइको सरकारबाट गलहत्याएर सडकमा आइपुग्दा पनि ओलीलाई गलत गरेको र ओलीका कार्यकर्तालाई ओली गलत भएको भान छैन l

ओलीले जुन नीति अबलम्बन गरेका छन् त्यो कित्तामा उनी अलमलमा छैनन् तसर्थ नीतिगत प्रस्टताको जितको लागि ओलीको समर्थन आजको मेरो अभिस्ट हो l ओलीको राजनीति र एक व्यक्तिको देवत्वकरण हेरेर पार्टी कुन र कस्तो हैसियतमा पुग्छ त्यो भावी पुस्ता र राजनीतिकर्मीले सकारात्मक नकारात्मक दुवै पाटोबाट सिक्न देख्न र बुझ्नको लागि पनि ओलीमय एमालेमा ओलीको शानदार जित अपरिहार्य छ l

नेपाली राजनीति र ओली अरूको लागि खराब होलान् तर यतिबेलाको एमालेको लागि ओली निर्विकल्प विकल्प हुन् l ओलीलाई महाधिवेशनमा च्यालेन्ज गर्ने कसैको हैसियत छैन l ओलीको प्रतिस्पर्धीको रूपमा आउने कसैले हिम्मत गरेको छ भने त्यो पानीको फोका हो, केवल हावा भरिएको बेलुन हो l

तिनलाई मात्र ओलीलाई संगठनमा च्यालेन्ज दिने नैतिक र वैधानिक हक छ जसले कम्तिमा आफ्नो कित्ता र अडानलाई फेरेका छैनन् l पार्टीप्रति विश्वासघात गरेका छैनन् l आफ्नै पार्टी र आफ्नै पार्टी अध्यक्षको सरकार गिराएर त्यसको औचित्य पुष्टि गर्न सकेका छैनन् l नेपाली जनजिब्रोमा प्रचलित भाषामा भन्ने हो भने कुन मुखले म पार्टी अध्यक्षको लागि योग्य मान्छे भन्न सक्छन् रावलले ?

रावललगायत अन्य १० जनाले आफ्नो सरकार गिराउनुको औचित्य पार्टीमा कसरी प्रमाणित गर्छन् ? ओली विरुद्द उम्मेदवारी दिन्छु भनेर सुदूरपश्चिममा बोलेर करिब आधा महिना चुप बसेका डाक्टर भीम रावलको उम्मेदवारी घोषणापछिको कारण ओलीले बाल नदिएको र कुनै वास्ता नगरेको कारण भएको बुझ्न कठिन छैन l

बार्गेनिङ गरेर आफू वरिष्ठ उपाध्यक्ष बन्ने दाउमा रावलले उम्मेदवारी दिन्छुको बार्गेनिङ टुल्स फ्याँकेका थिए । तर, ओलीले अनदेखा गरेपछि पुन च्याखे थाप्न रावलले उम्मेदवारी घोषणा गरे । दुर्भाग्य नै भन्नुपर्छ, आफ्ना १० भाइसमेतको सहयोग लिन सकेका छैनन् र एक्लै रिपोर्टस् क्लबमा पुगेर आफ्नो मनसाय सुनाए l

तडकभडक चाहिने रावल रिपोर्टस् क्लबमा आफ्ना १० भाइकोसमेत सहयोग पाउन नसकी उदास र खिन्न बन्दै पुगे l आफू एक्लै हुनु भीमको पहिलो हार हो l हुनत भीम ओलीलाई पराजित गर्न सक्छु भन्ने मानसिकताले एमाले अध्यक्ष लड्छु भनेका पनि होइनन् l

यद्यपि भीम जुन मनोदशा र परिस्थितिमा छन्, त्यसले के दर्शाउँछ भने उम्मेदवारी घोषणा यिनको बाध्यता र थोरै भए पनि शक्ति संचयको उदेश्यमा केन्द्रित छ l प्रतिस्पर्धामा हार नराम्रो होइन तथापि सम्मानजनक हार कि सर्मानक हार ?

भीम आज पनि ओलीले फकाउँदा मान्ने पक्षमा छन् लोकाचार पार्न सहमतिमा नेतृत्व उनको भित्री आकांक्षा छ l यदि ओलीले पेलेर पाखा भित्तामा पुर्‍याउने भए भन्ने स्थितिको लागि अहम् तुष्टि गर्न उनले चुनाव लड्छन् अन्यथा ओलीले उपाध्यक्षको ललिपप देखाए भने भीमको गर्जन भिजेको बिरालो बनेर संकट र असहज स्थितिमा पार्टीको एकताको लागि सर्वसम्मत उम्मेदवार ओली भन्ने वाक्य निस्केर आउने पक्का छ l

कथं कदाचित ओलीले अन्तिम समयसम्म पनि वेवास्ता गरिराखे भीमको लाजगालले एमाले अध्यक्षमा उमेद्वारी कायम रहन्छ l ओली खेमाको असन्तुष्ट मत आउने र आफ्नो पक्ष भनिएकाले पनि अन्तत साथ दिएर शर्मनाक हार सम्मान जनक हारमा रुपान्तरण हुने विश्वास भीमको होला l आन्तरिक चुनावी प्रतिस्पर्धामा जीतको मात्रै होइन हारको पनि आफ्नो महत्व हुन्छ l

हार विजेता नहुनु हो, उपविजेता बन्नु हो, तसर्थ हारको पनि आफ्नै प्रयोजन हुन्छ l हारमा भावी दिनको सुनौलो भविष्य कोरिएको हुन्छ l चुनाव प्रक्रिया हो जीत हार यसका नियम l हार आफैँमा नराम्रो मानिन्न यसले व्यक्तित्व निर्माण र मानक निर्माण गर्दै लैजान्छ l व्यक्तित्व बन्ने सवालमा कांग्रेस पार्टीको मुखिया बन्ने देउवाको प्रसंग हेराैं ।

देउवा कांग्रेस सभापतिमा गिरिजाप्रसादसँग देखि लड्दै आएर आफूलाई स्थापित गरेका नेता हुन् l गिरिजासँग असहमति भयो पार्टी समेत फुटाए र कांग्रेस प्रजातान्त्रिकको सभापति समेत बने हारको शृंखला रहे पनि एकीकृत पार्टीको सभापति पनि बन्न सफल भए उनको हजार कमजोरी होलान् । तर, पार्टी प्रक्रिया निर्माण र नेत्तृत्वलिन जहिल्यै स्पष्ट कित्ताकाटमा उभिए l

उता भीम रावललाई गिरिजाकालीन देउवा बन्ने हैसियत छैन l देउवा आफ्नो कित्तामा जहिल्यै अडान साथ बसे l रावलमा पछिल्लो चरणमा देखिएको विश्वाशघाती र आत्मसमर्पणवादी प्रवृतिले विगतमा आर्जेको विश्वासको विरासत धुलिसाथ गर्यो । त्यसैले नेकपा एमालेको मुखिया बन्ने नैतिक हैसियत भीम रावलसँग छैन l

धोकेबाज भीम रावललाई भोट दिने नेताकार्यकर्ता एमालेमा नगन्य छन् l आफ्नो अनिश्चित भविष्यको कारण माधवलाई पार्टी फुट्न उक्साएर ओलीमा समाहित हुने अरूले पनि रावलको लागि सती जाने रहर नगर्लान शायद ?

भीमलाई ओली खेमाका असन्तुष्ट पक्षले पनि भोट दिनु हुँदैन र दिँदैनन् पनि l आफ्नो एकमनाको सरकार ढालेर आफ्नै पार्टीघात गर्ने, पार्टी फुटाएर अर्को पार्टी गठन गर्न माधव नेपाल, झलनाथ खनाल लगायत एमालेका वरिष्ठ नेतालाई उक्साउने, पार्टी अध्यक्षको सरकार गिराउने र पार्टी अध्यक्षलाई सार्वजनिक रूपमा निम्न स्तरको गाली गर्ने पार्टी भंडुवा नेतालाई कसरी एमालेका नेताकार्यकर्ता ओलीका भक्तले पार्टी अध्यक्ष स्वीकार गर्छन ?

कुन नैतिकता र इमानले ओली समर्थकले भोट गर्छन ? नैतिक र राजनीतिक रूपमा भीम लगायत पार्टीलाई धोका दिएर माधवहरू उक्साउने र अन्तिममा माधवलाई धोका दिएर ओलीको पाउमा लम्पसार परेर आत्मसमर्पण गर्ने नेताहरू वरियतामा सबैभन्दा पुच्छारका नेताकार्यकर्ता हुनुपर्छ l

पार्टीको पोर्टफोलियोमा माथि नै रहे पनि आम एमाले कार्यकर्ताको मन मनमा दिलदिमागमा भीम रावलहरूप्रति चरम घृणा असन्तुष्टि र वितृष्णा छ l जुन आम मान्छेको स्वभाव पनि हो l धोका दिनेलाई गुण लगाएर मार्ने कुरा केवल अव्यवहारिक र कम चल्तीको आदर्श मात्रै हो l आजको समाजमा त्यो क्षमशिलता र सहनशीलता उदारता पाउन मुश्किल र कुनै कथा कहानीका विषय मात्र हुन् l यथार्थ र एमालेको महाधिवेशनमा त्यो फगत कल्पना मात्रै हो ।

जे होस् सर्मनाक हारको लागि भीम करबल परिस्थति र समयले राजी बने उनको हैसियत प्रकट हुनेछ l नेकपा एमालेको अध्यक्ष हुन वान्छनीय योग्यता भएका एकमात्र व्यक्ति ओली नै हुन् भीम रावल पिंध नभएका लोटाको रूपमा परिचित भइसके l भोलिको लागि शक्ति सञ्चचय र च्याँखे थाप्ने उनको दाउ हो l

भीम अब सक्कली भीम रावलबाट बुख्यांचामा अनुवाद भैसके l बुख्याँचा केवल भ्रम हो l भ्रमको आयू लामो हुन्न l आफ्नो सैद्दान्तिक र दार्शनिक धरातल गुमाएपछि पाउने कुरा र आउने प्राप्ति फगत तुष्टि मात्रै हो l नेकपा एमालेको इतिहासमा ओलीसँग प्रतिस्पर्धा गर्ने हिम्मत मैले गरे भनेर गफ लडाउन डाक्टर साहेबलाई सजिलो होला l विद्यावारिधिको उपाधि प्राप्त भीम रावल भन्दा थोरै पढेका भनिएका ओलीले आजको एमाले हाँक्ने ल्याकत राख्छन् l