काठमाडौं, माघ ४ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख चयनको विषय पेचिलो बन्दै गएको छ ।
पार्टीले सभामुखबारे निर्णय नगर्दासम्म उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिइरहेका बेला नेकपाकै नेताहरुले भने उपसभामुखको राजीनामाबिना नयाँ सभामुखको उम्मेदवार चयन हुनै नसक्ने बताएका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणअघि नै राष्ट्रपति, प्रधानमन्त्रीसहितको पद भागबन्डा गर्दा सभामुख माओवादी केन्द्रको भागमा परेको थियो ।
तर, कृष्णबहादुर महरालाई बलात्कार प्रयासको अभियोग लागेपछि रिक्त सभामुख पदमा को लैजाने भन्नेमा नेकपाभित्र रस्साकस्सी कायमै छ ।
प्रतिनिधिसभामा सुविधाजनक बहुमतमा रहेको नेकपाले जसलाई उम्मेदवार बनायो, उही नै सभामुख बन्छ ।
तर, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अनिच्छाबीच उपसभामुखलाई राजीनामा दिन पार्टी सचिवालयले गरेको निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन ।
आवरणमा उपसभामुखले राजीनामा नदिएकाले सभामुख चयन प्रक्रिया रोकिएको भनिएपनि वास्तवमा सभामुख पूर्वमाओवादी खेमाले पाउने कि पूर्वएमाले खेमाले पाउने भन्ने नै मुख्य विवाद बनेको छ ।
नेकपाभित्रको यही विवादका कारण लामो समयदेखि संसदीय गतिविधि बन्धक बनेको छ ।
नेकपा नेता हरिबोल गजुरेल पार्टी भागबन्डाकै आधारमा चलेकाले हिजो माओवादी खेमाको भागमा परेको सभामुख आज पनि उसकै भागमा पर्नुपर्ने बताउँछन् ।
तर, पूर्वएमाले पक्ष सहजै सभामुख पद छोड्ने पक्षमा छैन । स्वयं प्रधानमन्त्री ओलीसमेत आफूअनुकूल व्यक्तिलाई सभामुख बनाउन लागिपरेका छन् । सोही कारण सभामुख चयन हुन सकेको छैन ।
पूर्वएमाले खेमाको तर्फबाट उपसभामुख बनेकी डा. तुम्बाहाङफे पार्टीले आफैंलाई सभामुखको उम्मेदवार नबनाउँदासम्म राजीनामा नदिने अडानमा छिन् ।
तर, नेता गजुरेल उपसभामुखले राजीनामा दिनासाथ सभामुखबारे पार्टीले निर्णय गर्ने बताउँछन् ।
प्रतिनिधिसभा जनताको सार्वभौम अधिकार प्रयोग हुने थलो हो । अमुक नेता वा दलको स्वार्थ पूरा नभएको बहानामा जनताको आवाज मुखरित गर्ने थलो लामो समयसम्म बन्धक बन्नु राम्रो होइन ।









प्रतिक्रिया दिनुहोस्