Logo १६ पुस २०८२, बुधबार | Thu Jan 1 2026


आर्थिक वर्षको ६ महिनाको अवधिमा विकास खर्च १४ प्रतिशत मात्रै


0
Shares

काठमाडौं, माघ ३ । चालू आर्थिक वर्षको ६ महिनामा पुँजीगत खर्च १४.४९ प्रतिशत मात्रै भएको छ ।

आर्थिक वर्षको ६ महिना बित्दा विकास खर्च कुल बजेटको जम्मा १४ प्रतिशत मात्रै भएको हो । जुन अत्यन्तै न्यून हो ।

आर्थिक वर्षको सोही अवधिमा चालू खर्च ३२.४९ प्रतिशत हुँदा पुँजीगत खर्च १४ प्रतिशत र वित्तीय खर्च १६.५० प्रतिशत भएको हो ।

चालू आर्थिक वर्षमा विकास खर्च चार खर्ब ८ अर्ब बजेट छुट्याइएकोमा माघ ३ गतेसम्ममा जम्मा ५९ अर्ब १२ करोड मात्रै खर्च भएको छ ।

राजनीतिक पहुँचको आधारमा आयोजना छनोट हुनु, विकास आयोजनाहरुको काम समयमै हुन नसक्नु, परियोजनाको अनुगमन नहुनु तथा समयमै भुक्तानी नहुनु विकास खर्च घट्नुको मुख्य कारण रहेको विज्ञहरु बताउने गर्छन् ।

सरकारले अनुगमन र प्रशासन संयन्त्रलाई बलियो बनाउन नसक्दा समयमै भुक्तानी नसक्ने र विकासे खर्च हुन नसक्ने गरेको अर्थविद् केशव आचार्य बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीगत खर्च बढाउने भन्दै राष्ट्रिय गौरवको आयोजनाको प्रधानमन्त्री कार्यालयबाटै अनुगमन तथा निरीक्षण सुरु गरेका थिए । तर, पुँजीगत खर्चमा सुधार हुन सकेको छैन ।

सरकारले पुँजीगत खर्चमा सुधार गर्न नसक्दा स्वदेशी लगानीसमेत परिचालन हुन नसक्नुका साथै वैदेशिक लगानीसमेत भित्रिन नसक्ने अर्थविद् आचार्य बताउँछन् ।

सरकारले विकासको आयोजनाहरुको अनुगमन तथा मूल्यांकन समयमै गर्ने तथा भुक्तानी समयमै उपलब्ध गराउन सकेमा मात्रै विकास खर्चमा सुधार हुने देखिन्छ ।