२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सीमा समस्याबारे नेपाल र भारतबीच आज छलफल हुँदै


0
Shares

कञ्चनपुर । नेपाल भारत सीमा समस्या समाधानका लागि आज कञ्चनपुरमा नेपाल–भारतका उच्च अधिकारीहरुको बैठक बस्दैछ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार नेपाल–भारत सीमा नक्सांकनका बारे छलफल गर्न दुवै देशका अधिकारीहरुको बैठक बस्न लागेको हो ।

बैठक बिहान साढे १० बजे भारतीय सीमावर्ती बजार बनबासामा बस्दैछ । प्रमुख जिल्ला अधिकारी सुशिलकुमार वैद्यका अनुसार बैठकमा नेपाल–भारत संयुक्त सीमा सर्भे टोली, दुवै देशका उच्च अधिकारी र सुरक्षा निकायको सहभागिता रहने छ ।

उनका अनुसार बैठकमा हराइएका सीमास्तम्भ र अतिक्रमित भूभाग तथा सीमा नक्सांकनको मिति तय गर्ने विषयमा छलफल गरिनेछ । यसअघि भारतीय पक्षले ब्रह्मदेव क्षेत्रबाट नक्सांकनको काम सुरु गर्ने दावी गर्दै आएको थियो ।

बैठकमा सीमा नक्सांकनका लागि कहाँबाट सुरु गर्ने भन्ने विषयमा दुवै देशका अधिकारीहरुले छलफल गरेर मिति तय गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कञ्चपुरमा ३ सय ८० सीमास्तम्भ रहेका छन् ।

जसमध्ये ३६ वटा हराइरहेका छन् भने २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।