महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित « Image Khabar


महाँकाल पूजा संकटमा, परम्परा खुम्चिएकोमा संस्कृतिविद् चिन्तित



नरेन्द्र मानन्धर
काठमाडौं । बज्रयानी बौद्ध परम्परामा वार्षिक महांकाल पूजाले विशेष महत्व राख्छ ।

विभिन्न बौद्ध विहार र गुम्बाहरूमा भइरहेको यो पूजाको केन्द्र काठमाडौं उपत्यका भए पनि त्यसको प्रभाव अन्य भूगोलमा फैलिरहँदा यहाँ भने पूजा खुम्चिएर पारिवारिक बन्दै गएको छ । आध्यात्मिक इतिहासको पाटोका रूपमा रहेको परम्परा जोगाउन यथोचित प्रयास हुनु जरुरी छ ।

बज्रयानी बौद्ध धर्म, संस्कृति र परम्परामा महांंकाल पूजा हुने गरेको छ । विभिन्न महांकाललाई धर्मको रक्षार्थ धर्मपालको रुपमा तान्त्रिक गुह्य पूजा हुँदै आएको छ । तिब्बत जान आकाशमा उडिरहेका बज्रवीर महांकाललाई काठमाडौंका मन्त्रसिद्धि विहारका बौद्धतान्त्रिक शाश्वत बज्र बज्राचार्यले चर्या नृत्य र गीत मार्फत् समातेर राखेको विश्वास गरिन्छ ।

तन्त्रमन्त्र सृजना र सिद्धि गर्ने विहारका शाश्वत बज्रले महाकांल वंशमा पार्न ‘पञ्चकपाल’ चर्या नृत्य समेत गरेका थिए । तिब्बतको रक्षा गर्ने धर्मपालको रूपमा समेत बज्रवीर महांकाललाई लिइन्छ । उपत्यकका हरेक विहार र गुम्बाहरूमा समेत महांकालको मूर्ति रहेको छ ।

नेपालमा नै महांकालको विभिन्न तन्त्रका ग्रन्थहरु रचना भएको मानिन्छ । तर, अहिले महांकालहरूको पूजा हुने गरे पनि वार्षिक विशेष गुह्य पूजा भने लोप भइसकेको छ । यद्यपि हिमाली क्षेत्रका बौद्ध धर्म, संस्कृति र परम्परामा भने महांकालहरूको वार्षिक गुह्य विशेष पूजा हुँदै आएको छ ।

नेपालमा भुटानी विहारको भनेर चिनिएको काठमाडौंको साङ्गे छ्योलिङ विहारका नेङ्गेटुव लामा ग्रहशान्ति र सुरक्षा लागि महांकालको पूजा हुने गरेको बताउनुहुन्छ । तर, बज्रयानको केन्द्र र विभिन्न गुह्यतन्त्र ग्रन्थको रचनासमेत यहिँ भएक पनि महांकालको वार्षिक पूजा हुन नसकेको कारणबारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

यसलाई विज्ञहरूले अनुसन्धानको पाटो बनाउनुपर्ने बताइरहेका छन् । विहार लामा लोपेन नाङछु बोधिचित प्राप्तिमा सफलता प्राप्तिका लागि पनि यो तान्त्रिक पूजा हुने गरेको छ ।

स्वयम्भू महाचैत्यलाई केन्द्रमा राखेर नेपालबाट पनि विकसित हुँदै गएको बज्रयान बौद्ध धर्म अन्य मुलुकको संस्कृति र परम्परा अनुसार विश्वमा फैलिँदै जानु तर यहाँ भने एउटा बौद्ध समुदायमा सीमित हुनु आफैँमा विडम्बना बनेको छ ।