सेनेटरी प्याड मेसिन जडान भएपछि विद्यालय जाने छात्राकाे संख्या बढ्दै « Image Khabar


सेनेटरी प्याड मेसिन जडान भएपछि विद्यालय जाने छात्राकाे संख्या बढ्दै



डीबी विष्ट
बझाङ । महिनावारी भएको समयमा विद्यालय जान नमान्ने छात्राहरु अहिले विद्यालय जान थालेका छन् । विद्यालयमै सेनेटरी प्याड पाउन थालेपछि यहाँका किशोरी छात्राहरु नियमित रुपमा विद्यालय जान थालेका हुन् ।

बझाङ जिल्लाका दुर्गम ठाँउका कतिपय विद्यालयमा अध्यनरत छात्राहरु अहिले पनि महिनावारी भएको खण्डमा विद्यालय जान मान्दैनन् । साथीसंगीहरुले जिस्काउने डर तथा शिक्षक शिक्षिकाको अघि जान धक मान्ने भएका कारण उनीहरु महिनावारी तथा छाउ भएको समयमा विद्यालय जान छात्राहरुलाई असहज हुने गरेको थियो ।

तर अहिले भने उक्त बाध्यताबाट यहाँका किशोरीहरुले छुटकारा पाएका छन् । थलारा गाँउपालिकाका र ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक सहयोगमा विद्यालयमा सेनेटरी प्याड भेण्डिङ मेसिन जडान गरीदिएपछि उनीहरु यो समस्याबाट मुक्त भएका हुन् ।

भेण्डिङ मेसिन जडान हुनु पूर्व आफूहरुको पढाई छुट्नुका साथै साथीहरुले पनि जिस्काउने गरेको कक्षा १० मा अध्यनरत छात्रा अरुणाकुमारी धामीको अनुभव छ । सेनेटरी प्याड मेसिन जडान भएपछि अहिले आफूहरुलाई सहज भएको उनको अनुभव छ ।

शौचालयमा गएर मेसिन बाट सेनेटरी प्याड निकालेर प्रयोग गर्न मिल्ने भएकाले पढाइमा बाधा नहुने छात्राहरु बताउँछन् । विगतमा विद्यालयमा पर्याप्त पूर्वाधार नभएकाले महिनावारी हुन समयमा बाध्यताले कक्षा छोड्नपरेपनि हाल विद्यालय जान कुनै समस्या नभएको छात्राहरु बताउँछन् ।

विद्यालयमा सेनेटरी प्याड उपलब्ध हुने मेसिन जडान भएपछि छात्राहरुको विद्यालयमा नियमित उपस्थिति हुने गरेको थलारा माविका प्रधानाध्यापक हिक्मतबहादुर जाग्रीले बताउनुभयो । पहिला शौचालयको सुविधा र खानेपानीको अभाव भएपनि हाल सबै सुविधा उपलब्ध हुँदा शैक्षिक गुणस्तरमा सुधार आएको उहाँको अनुभव छ ।

जिल्लाका अझै दुर्गम बस्तिहरुमा अहिले पनि महिनावारी भएको समयमा छाउगोठमा बस्ने ७ दिन पूरा नभएसम्म विद्यालय नजाने प्रचलन कायमै छ ।

यस्ता समस्याबाट छुटकारा दिन दुर्गम बस्तिका विद्यालयमा पनि यस्तै मेसिनहरु जडान गरी छात्राहरुको पठनपाठनलाई नियमित गर्न सके समाजलाई चाँडै नै सचेत र शिक्षित गराउन सकिन्छ । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।