Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


भूमिसम्बन्धी सबै समस्या समाधान गर्न हदैसम्मको प्रयास गर्छु : मन्त्री अर्याल


0
Shares

काठमाडौं, साउन १८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएकी छन् ।

शुक्रबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पदभारग्रहण गरेपछि उनले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानुन बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ–सहयोग जरुरी रहेको बताइन् ।

मन्त्री अर्यालले अर्थतन्त्रको प्रमुख आधारकारुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीमा छरिएर रहेको पुँजीलाई एकीकृतरुपमा परिचालन गर्ने बताइन् ।

गरिबी निवारणका लागिसमेत सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले भनिन्–‘गरिबी निवारणको प्रमुख आधारकारुपमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र व्यवस्थित गर्ने योजनामा हामी लाग्छौं । अर्थतन्त्रको प्रमुख आधारसमेत रहेकाले यस क्षेत्रलाई बढी महत्वसमेत दिन्छौं ।’

मन्त्री अर्यालले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्ने दिशामा नै केन्द्रित हुने बताइन् ।

मन्त्री अर्याललाई सचिव गोपीनाथ मैनालीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको कामना गरेका थिए ।

पदभार ग्रहणलगत्तै मन्त्री अर्यालले भूउपयोग कार्ययोजना कार्यान्वयन गर्ने कार्यदल गठनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरिन् ।

सो कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव जनकराज जोशी रहेका छन् । भूमिको उत्पादन र उपादेयताका लागि सो कार्यदलले काम गर्नेछ । रासस