३० माघ २०८१, बुधबार | Wed Feb 12 2025


सभामुख चयनमा राष्ट्रपति भण्डारीको प्रवेश: त्रिपक्षीय शक्ति संघर्ष चर्कियो


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले एक–एक जना पात्र अगाडि सारिरहेको बेला सभामुख छनौट प्रकृयामा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवेशले त्रिपक्षीय शक्ति संघर्ष चर्किएको छ ।

नेकपाले सभामुख चयनलाई लिएर संसदलाई बन्दी बनाएकोमा पूर्व सभामुखहरु भने आक्रोशित देखिएका छन् ।

तत्कालिन सभामुख कृष्ण बहादुर महरा संसद सचिवालयकै एक महिला कर्मचारीलाई दुव्र्यवहार गरेको अभियोगमा जेल परेपछि रिक्त प्रतिनिधि सभाको सभामुख पदमा नेकपाका दुई अध्यक्ष ओली र  दाहालले फरक–फरक पात्रलाई उम्मेदवार बनाउन निकै कसरत गरिरहेका छन् ।

ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले नेता अग्नी सापकोटालाई सभामुख बनाउन रस्साकस्सी गरिरहेको बेला संवैधानिक राष्ट्रपतिको भूमिकामा रहेकी विद्यादेवी भण्डारीले वर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई अगाडि सारेपछि नेकपामा सभामुख चयन सोचे भन्दा निकै पेचिलो विषय बनेको छ ।

सभामुख चयन प्रकृयामा आफ्नो तर्फबाट पात्र अगाडि सारेर संवैधानिक राष्ट्रपति भण्डारी आलोचित बनेकी छिन्  । अर्का पूर्व सभामुख रामचन्द्र पौडेलले पनि तत्काल सभामुख चयन गर्न आग्रह गरेका छन् । उनले सार्वभौम संसदलाई नेकपाले खेल मैदान बनाएको टिप्पणी गरेका छन् ।

पूर्व सभामुखहरुले नेकपाले तत्काल सभामुख को बनाउने भनेर निर्णय दिन सक्नु पर्दछ र तटस्थ पात्रलाई सभामुख बनाएर संसद संचालन गर्नु पर्दछ भनिरहेका छन् । 

विश्लेषकहरुले संसद विधि निर्माणको थलो भएको र कुनै अमुक दलका नेताहरुको स्वार्थ पूर्ति गर्ने थलो नभएको भन्दै नेकपाका दुई अध्यक्ष र राष्ट्रपतिले आफ्नो खल्तीका मानिसलाई सभामुख बनाउने खेल तत्काल बन्द गर्न सुझाव दिएका छन् ।

त्यसैले संसदीय मूल्य, मान्यतामा अडिने पात्रलाई सभामुख बनाउन पर्दछ । उपसभामुख तुम्बाहाम्फे पनि अयोग्य पात्र होइनन । उनको जिद्दीपनले पनि सभामुख चयन प्रकृया भने नरोकियोस् ।