Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


मेरो लक्ष्य एसिया कप छनोट– अल्मुताइरी


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अत्मुताइरीले आफ्नो लक्ष्य एसिया कप छनोट रहेको बताएका छन् ।

मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अल्मुताइरीले तीन वर्षे लक्ष्य र योजनाहरु सार्वजनिक गर्ने क्रममा एसिया कपमा छनोट हुनु आफ्नो लक्ष्य रहेको बताएका हुन् ।

तीन चरणको लक्ष्य राखेको बताउँदै उनले पहिलो चरणमा २०२७ को एसिया कपमा छनोट हुने लक्ष्य रहेको बताए । पहिलो चरणमा राष्ट्रिय टीमको प्रशिक्षण र मैत्रीपूर्ण खेलको तालिका रहेको उनले जानकारी दिए । ‘मेरो मुख्यतः तीनवटा लक्ष्य रहेका छन्,’ उनले भने, ‘त्यसमध्ये मेरो मुख्य लक्ष्य भनेको एसिया कप छनोट हुनु हो, बाँकी पछि भन्नेछु ।’

मंगलबार पत्रकार सम्मेलनका क्रममा अखिल नेपाल फुटबल संघले उनीसँग तीन वर्षको सम्झौतामा हस्ताक्षर गरेको छ । यसअघिको सम्झौता रद्दा गर्दै एन्फाले सोमबारदेखि लागू हुने गरी अल्मुताइरीसँग तीन वर्षको सम्झौता गरेको हो । सम्झौतासँगै अल्मुताइरी २०२४ को नोभेम्बरसम्म प्रशिक्षकको रुपमा रहनेछन् ।

साफ च्याम्पियनसिपको फाइनलअघि कहिल्यै पनि नेपाल नफर्कने घोषणा गरेका अल्मुताइरीले आफूलार्ई नेपाली फ्यानको मायाले आकर्षित गरेको बताएका छन् । आफूसँग क्षमता भएको र नेपाली फुटबल फ्यानले त्यो क्षमतालाई चिनेर माया गरेको उनको भनाइ छ ।

कतार फुटबल संघले अल्मुताइरीको तलब तथा सेवासुविधा हेर्नेछ । नेपालमा रहँदा उनलाई एन्फाले दुई लाख रुपैयाँ प्रतिमहिना दिने स्रोतले जनाएको छ । उनको तलब मासिक १० देखि १२ लाख रुपैयाँ रहेको बुझिएको छ ।