-शंकर खनाल/राम डंगोलका/ईमेज
काठमाडौं, पुस २५ । नेपाली काँग्रेसको शीर्ष नेतृृत्व गुट–उपगुटमा विभक्त बन्दै गर्दा काठमाडौमा आएका विभिन्न जिल्लाका सभापतिहरुले गुट–उपगुटलाई निमिट्यान्न पारी पार्टीलाई गति दिन सुझाव दिएका छन् ।
उनीहरुले पनि आफूहरु कुनै गुट–उपगुटको भेलामा संलग्न नभएको स्पष्टिकरण दिएका छन् । पार्टीको शीर्ष नेतृत्वको संवादहीनताको अन्त्य गरी जिल्ला फर्कने उनीहरुको चाहना छ ।
नेपाली काँग्रेसभित्रको संस्थापन इतर रामचन्द्र पौडेल पक्षको भेलामा संलग्न भएर आफ्नो धारणा राखेका जिल्ला सभापतिहरुले संस्थापन पक्ष पार्टी सभापति शेरबहादुर देउवालाई भेटर पनि त्यस्तै सुझाव राखेका छन् ।
उनीहरुले पार्टीको महाधिवेशन मिति सहमतिबाटै घोषणा गर्न, विभाग थप घटलगायतका महत्पूर्ण निर्णय सहमतिबाट गर्नका लागि पनि सुझाव दिएका छन् । सभापतिहरुले भातृ संस्थाहरुलेसमेत पार्टी सदस्यता दिन सक्ने प्रावधानले पार्टीको हित नगर्ने भएकाले त्यस्तो प्रावधान हटाउन पनि उनीहरुले माग गरेका छन् ।
दैलेख जिल्लाका सभापति कृष्णकुमार बिसीले नेताहरुबीच भावानात्मक एकता कायम गरी गुट र फुटको नभइ जुटको सन्देश बोकेर जिल्ला फर्कने इच्छा सभापतिहरुको रहेको बताउँछन् ।
उदयपुरका सभापति विनोद बस्नेतले जिल्ला सभापतिहरुलाई गुटको सभापति बनाएकोमा चित्त दुखाएका छन् । शीर्ष नेतृत्व गुट– उपगुटमा विभक्त हुँदा र जिल्ला सभापतिहरुलाईसमेत गुट उपगुटको ट्याग लगाएको प्रतिपनि सबै जिल्ला सभापतिहरुले आपत्ति जनाएका छन् ।
उनीहरुले संकटपूर्ण अवस्थामा पार्टीलाई सुझाव दिन भएको भेलालाई गुट उपगुट भन्न नमिल्ने भन्दै शीर्ष नेतृत्व सबैलाई सहमति र सहकार्यका लागि सन्देश दिएको जिकीर गरेका छन् । पार्टी भित्रको भागबण्डा अहिले नेपाली काँग्रेस भित्रको मुख्य समस्या हो ।
त्यसैले पार्टीभित्र देखिएको भागबण्डाको राजनीति अन्त्य हुनुपर्ने सबै सभापतिहरुको मुख्य माग पनि हो । सबै जिल्लाका सभापतिहरुले प्रमुख प्रतिपक्षी दलको भूमिका सशक्त बनाउने र सरकारको बलियो खबरदारी गर्ने समयमा घरभित्रको झगडामा नफस्न नेतृत्वलाई सुझाव दिएका छन् ।
तर, उनीहरुको चाहना र सुझावलाई शीर्ष नेतृत्वले कतिको पत्याउने हो त्यो भने हेर्न बाँकी नै छ ।









प्रतिक्रिया दिनुहोस्