Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


न्यायाधीशहरू आज पनि इजलासमा नबस्ने


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शैली र प्रवृत्तिविरुद्ध तथा न्यायालय सुधारका लागि संघर्षरत न्यायाधीशहरू आइतबार पनि इजलासमा नबस्ने भएको छन् । बिदामा रहेका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा पनि आइतबार कार्यालय आउँदै छन् । उनीहरूसहित बैठक बसेर ठोस निचोडमा पुग्ने एक न्यायाधीशले बताए ।

शुक्रबारको बैठकमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्नेबारे सामान्य छलफल गरेका थिए, तर टुंगोमा पुगेका थिएनन् । आइतबार विस्तृत छलफल गर्ने गरी बैठक सकिएको ती न्यायाधीशले बताए । नागरिकको न्याय पाउने हक कुण्ठिन नहोस् भन्नेमा पनि आफूहरू सजग रहेको उनको भनाइ छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्चमा २० न्यायाधीश कार्यरत छन् । न्यायालय सुधारका लागि प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने पक्षमा १९ न्यायाधीश एक ठाउँ उभिएका छन् । उनीहरूले गत मंगलबार प्रधानन्यायाधीशलाई भेटेरै निकास दिन आग्रह गरेका थिए । तर, जबराले राजीनामा नदिने जवाफ फर्काएका थिए ।

त्यसयता संघर्षरत न्यायाधीशहरू इजलासमा बसेका छैनन् । प्रधानन्यायाधीशले आफू संवैधानिक प्रक्रियाबाट आएकाले सोही प्रक्रियाबाट जाने र ‘सडकबाट आवाज उठ्दैमा राजीनामा नदिने’ अडान राख्दै आएका छन् ।

बारले आजदेखि कालोपट्टी बाँधेर दैनिक एक घन्टा धर्ना दिने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई राजीनामा दिन पाँच दिनको अल्टिमेटम दिएको नेपाल बार एसोसिएसनले आइतबारदेखि सर्वोच्च अदालतमा आन्दोलन सुरु गर्दै छ । बुधबारसम्म कालोपट्टी बाँधेर दैनिक एक घन्टा सर्वोच्चमा धर्ना दिने बारको कार्यक्रम छ । धर्नाका बीच मंगलबार विरोधसभा पनि गर्ने बारको निर्णय छ ।

नयाँ पत्रिका