राजनीति ‘गन्धा’ छ तर अहिले ‘धन्दा’ छ « Image Khabar


राजनीति ‘गन्धा’ छ तर अहिले ‘धन्दा’ छ



पेशल आचार्य

नेपालको राजनीति र मनसुनको कुनै टुङ्गो हुँदैन । गएसाता विदा भैसकेको मनसुन फेरि पश्चिमी वायुका रूपमा फर्किएर पश्चिम, मध्य र पूर्वी नेपालमा भारी वर्षा गराई व्यापक जनधनको क्षति ग¥यो । वार्षिक करिब ५० अर्ब बराबरको धानचामल र समग्र अन्न आयात गरिरहेको मुलुकमा मुर्दामाथि कात्रो भनेझैँ आउँदो वर्ष अन्न आयातको अझ कस्तो विकराल स्थिति हुने होला ?

मौसमको पूर्वानुमान गुगलले गराएको रहेछ । मौसम विज्ञहरूले सरकारका कान फुक्न भ्याइसकेका रहेछन् तर सरकारी च्यानल गृह मन्त्रालय हुँदै ७७ वटै सिडिओ कार्यालयबाट सो सूचना गाउँ÷नगर र जिल्लामा छरिएका कृषकसामु पुग्न सकेको भए अनाहकमा ९० जना मानिसको ज्यान जाने थिएन । खरबौं रूपैयाँ बराबर भौतिक क्षति र अरबौं रूपैयाँ बराबर धान तथा अन्य बाली नष्ट हुने थिएनन् ।

नेपालमा कुनै कामहरू झट्ट नगर्ने, भद्रो हेर्ने महारोग राणा र पञ्चायतदेखि रहेको छ । अहिले गणतन्त्रमा समेत यो रोग हटेन । अविरल वर्षाको सूचना प्रदेश र स्थानीय तहले प्रभावकारी रूपमा गाउँमा लैजान सकेको भए किसानले धान काट्ने थिएनन् । बोटमै भएका धान यसरी बिग्रने थिएनन् । यतिविधि विमाख नगरेको भए किसानहरू टेलिभिजनमा अन्तर्वार्ता दिँदा कङ्कला शब्द निकालेर रुने थिएनन् ।

पश्चिम नेपालको भ्रमण गरेर प्रधानमन्त्रीले किसानहरूलाई प्याकेजमै राहत उपलब्ध गराउने, घर भत्केकालाई ५ लाख र मृतकका परिवारलाई २ लाख उपलब्ध गराउने वचन दिइसके । यो गठबन्धन सरकारको राम्रो निर्णय हो । सरकार भनेकै जनताका लागि प्राकृतिक विपदमा अभिभावक हो । सरकारले घोषणा गरेको राहत फाष्ट ट्रयाकमार्फत् जनतालाई दिनुपर्छ ।

देश यतिखेर प्रधानन्यायाधीश प्रकरणमा रनक्क तातेको छ । प्रधानन्यायाधीश राणाले मन्त्रीमण्डल गठनमा भाग खोजेका र उद्योग मन्त्रीका रूपमा नियुक्त गजेन्द्र हमाल चोलेन्द्रका जेठान भएकाले राणा एकाएक विवादमा तानिए । नेपाल बार एसोसिएन एकमुख लागेर राणाको विरोधमा जमेर लागेको छ । उसले भनेको छ –‘राणाको राजीनामा नै एक मात्र विकल्प हो । नत्र हामी आन्दोलनमा जान्छौं ।’

प्रधानन्यायाधीशको व्यवहारले अदालत विवादमा तानियो । जुन राम्रो कुरा होइन । चोलेन्द्रका काम कारबाहीहरू विगतदेखि नै विवादका घेरामा थिए । अहिले देखिने गरी भयो जसले सबै तह र तप्का तताए । सञ्चार माध्यम, नागरिक समाज र आम जनता सबै चोलेन्द्रले राजीनामा दिनैपर्ने अडानमा छन् । उता पाँचदलीय गठबन्धन भने भद्रो हेरिरहेको छ । उसले मुख खोलेको छैन ।

राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका प्रमुख मानिन्छन् । तीन अङ्गमा शक्ति सन्तुलनको स्थिति निहीत हुन्छ । लोकतन्त्र या गणतन्त्र जे भने नि यी तीनवटै अङ्गको सन्तुलन हो । जब यी अङ्गलाई राज्यको चौथो अङ्ग पत्रकारिता र पाँचौं अङ्गको मान्यता दिइने नागरिक समाजले सरकारका तीन अङ्गलाई चेक एण्ड ब्यालेन्स गर्दैन तब देशको गणतन्त्र नै भताभुङ्ग हुने अवस्था सिर्जना हुन्छ ।

जब यी अङ्गहरू सार्वजनिक नियुक्तिका पदहरू र मन्त्रीमा भागवण्डा मिलाएर आफ्ना मान्छे सेटिङ्गमा लाग्छन् तब लोकतन्त्रको नम्र्स सकिन्छ । अहिले भएको त्यही हो । दुःखको कुरो प्रधानन्यायाधीश केसमा मुलुकका ठूला राजनीतिक दलहरूको बोली एकैनाश छैन । एमाले अध्यक्ष ओलीले मुखै फोरेर ‘परमादेश गराउने पाँचैजना न्यायाधीशहरूले राजीनामा दिनुपर्ने’ कुरा राखे । सत्तासीन घटकहरू चुँसम्म बोलेका छैनन् ।

राजनीतिलाई गन्धा बनाउने काम अहिले राज्यका तीनवटै अंगका प्रमुखहरूबाट भैरहेको छ । हिजो ओलीले केही कारण नभएका अवस्थामा अहम् तुष्टिकै लागि दुईदुईपटक संसद विघटन गरेथे । सोही बेलामै प्रधानन्यायाधीश राणा पद बार्गेनिङ्मा लागिसकेका रहेछन् । ओलीले माग पूरा नगरेपछि उनले देउवाको दौराका फेर समातेका रहेछन् ।

‘राणाले विगतमा गरेका एकपछि अर्का हर्कतहरू यतिखेर बाहिर आएका छन् । पुनरावेदन अदालत विराटनगरको न्यायाधीश हुँदा ‘म्यारिज मुद्दा’ मा दिएको बौलठ्ठी फैसलाले तासको खेललाई बौद्धिक खेलको नयाँ परिभाषामा मेखाला भिराउने काम गरे । त्यसैगरी डिआइजी रञ्जन कोइरालाकी पत्नी हत्याकेसमा साबालख भैसकेका छोराहरूलाई नाबालक करार गर्दै उनीहरूको लालनपालनका लागि भनेर गरिएको स्वार्थपूर्ण फैसला अर्को युनिक फैसलमै दरियो । यस्ता अनेक फैसलाहरू छन्’ –योहो टेलिभिजनसँगको अन्तर्वार्तामा विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्की खरो भाषामा भन्छन् ।

उहिले बाका पालामा पूर्व २ नम्बर सिन्धुली र रामेछापतिर अदालत सम्बन्धी एउटा चर्चित गीत थियो –‘गढी डाँडा अदालतमा राडी खायो गाईले’ । मुद्दाका झगडीयाले कसैले राडी र कसैले गाई दिएर न्यायाधीशलाई प्रभावमा पारी फैसला गराउन खोज्दा अन्त्यमा गाई दिनेका पक्षमा मुद्दा जिताइदिँदा हार्ने पक्षले चैँ माथिको गीतको फाँकी बनाएको रहेछ । यसमा अदालतको न्याय सम्पादनप्रति ठूलो रोष प्रकट भएको छ । अहिले अदालत चौतर्फी प्रहारको तारो बनाइयो । जनताको अन्तिम आसको केन्द्रविन्दु भनेको अदालत हुन्छ । अब अदालत पनि यसरी विवादित हुने भएपछि जनताले आफ्नो मन राख्ने कुनै ठाउँ भेट्दैनन् । कि त फेरि क्रान्ति कि त यही भ्रष्ट सिष्टममा ‘तुँ शरणम्’ गर्नुपर्ने हुन्छ । चोलेन्द्र श्रीमानले विगतमा गरेका सहश्र काला कर्तुतहरूको कुम्भिपार्कको घैँटो यतिखेर फुटेको छ । अहिले त पाँचदलीय गठाबन्धनबाहेक अरू पात्र तातेका हुन् । केही दिनमै प्रेसर पढ्दै जान्छ । बिस्तारै जनता सडकमा उत्रन थालेपछि दलहरूले महाभियोग प्रस्ताव संसदमा लैजाने मसक्क आँट गरे भने राणा धोती न टोपी हुन्छन् ।

अनि त्यो बेला राणाले आफूलाई सेटिङ्मा उक्साउने प्रचण्ड, माधव र देउवाका सब काला कर्तुतहरू पटापटी पोल्ने काम गरे भने आउँदो चुनावमा ओली बा सरकारलाई नै असंवैधानिकताको आरोप लगाई चुनावी मुद्दा नउठाउन भन्न सकिन्नँ । कथम् त्यसो भयो भने काँग्रेस, माओवादी, नेकपा एस, जसपा र जनमोर्चा समेतले अकल्पनीय चुनावी क्षति व्यहोर्नु पर्ने हुन्छ । अहिलेको डर यो हो कि –चोलेन्द्रलाई खराब काम गर्न उक्साउने सबैलाई यथोचित कारबाही हुनुपर्छ भनेर आन्दोलनको आँधीबेहरी नउठ्ला भन्न सकिन्नँ । राजनीति ‘गन्धा’ तर अहिले नेपालमा ‘धन्दा’ मा चलिरहेको छ । यसरी अहिले जनता आक्रोश प्रकट गरिरहेका छन् ।